मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक : प्रधानमन्त्री ओली

लोकपथ
21
Shares

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसीयन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहनासहितको खुसीभन्दा अर्को ठूलो कुरा नभएको धारणा व्यक्त गरे । 

जलवायु परिवर्तनलगायत विश्वव्यापी रूपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै त्यसका लागि विश्व समुदायसँग आह्वान पनि गरे ।  

नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादित जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?