तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद शर्मा

लोकपथ
329
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कार्यक्रम हुनु पूर्व नै सरकारको तर्फबाट अश्रुग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरू बिथोलिएको जिकिर गरे  । 

उनले मञ्चमा कार्यक्रम गर्न नदिकनै आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताए । लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरूले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताए । 

सांसद शर्माले पार्टीहरू मिलेर जनतामाथि दमन गरेको बताए । तीनकुने घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरे । सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताए । शान्तिपूर्ण रूपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उनको आरोप छ । स्वीकृति लिएर आमसभा गर्न जाँदा बोल्न नदिकनै अश्रुग्याँस हान्नुको परिणाम तीनकुने घटना रहेको जिकिर गरे । 

उनले भने,‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिकन, मान्छेलाई बोल्नै नदिकन, अनि सरकारले अश्रु ग्याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरू तपाईँले कलेक्शन गरेर हेर्नुस् । एउटा कुरा निश्चित रूपमा देखिन्छ की स्टेजमा कार्यक्रम गर्न दिइएको छैन । हामी लोकतन्त्रवादी हौँ । सत्य के हो भने लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डेन, नर्सरी, जहाँ फरक—फरक खालका विचारहरू स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ । चाहे त्यो राजावादी होस्, चाहे माओवादी, कांग्रेस वा अर्को पार्टी । कुनै पनि विचार हातमा हतियार नकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ । स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने । अनि जनतालाई गरिखान नदिने ।’

सांसद शर्माले आक्रान्त जनताका माग सम्बोधन नगरीकन लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल समशेर जबरालाई सरकारले शक्तिको दुरुपयोग गरेर हत्कडी लगाएर थुनेको आरोप लगाए । यसबारेमा राप्रपा वा पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने उनको भनाइ छ । नेता द्वय लगायतका आन्दोलनकारीहरूलाई बिना सर्त रिहा गर्न माग गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?