तीनकुने घटनाको ५ दिनपछि फुर्सदमा नेपाल प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेर त्यसबारे जानकारी दियो । तीनकुने घटनाको विषयलाई लिएर राज्यको सुरक्षा संयन्त्रको चौतर्फी आलोचना हुन थालेपछि बुधबार अपरान्ह पत्रकार सम्मेलन गरियो ।
पत्रकार सम्मेलनमा प्रहरीले बताएका विषयले झनै सुरक्षा संयन्त्रको निरीहपन र राज्यको लाचारीपन थप उदांगो देखियो ।सूचना संकलनका लागि पुगेका पत्रकारको ज्यूँदै जलेर मृत्यु, हिडिँरहेका नागरिकमाथि गोली प्रहार, दर्जनौँ घरमा आगजनी, लुटपाट र तोडफोड । घटनाको एक साता हुँदा समेत त्यसको जिम्मेवारी न राज्य पक्षले लिएको छ, न आन्दोलनरत पक्ष नै ।
एकअर्कामा आरोप प्रत्यारोपको जुहारी चलिरहदा प्रहरीको पत्रकारसम्मेलनले आम रुपमा राज्यप्रति उठेका प्रश्नको चित्तबुझ्दो उत्तर आउने अपेक्षा थियो तर सो पत्रकारसम्मेलन पछि पनि नागरिक स्तरबाट झनै राज्यसंयन्त्रको भीड नियन्त्रणको शैलीप्रति चौतर्फी प्रश्न उठिरहेको छ ।

सुरक्षा प्रोटोकलमा स्थितिलाई सामान्य बनाउन गोली प्रहारसम्मको अधिकार दिइएको भएपनि पूर्वानुमान भएको तीनकुने घटनामा प्रहार भएको अश्रुग्यासदेखी गोली प्रहारको विषयसम्म सुरक्षा निकायमाथी प्रश्नै प्रश्न तेर्सिएको छ ।
तीनकुने घटनामा सुरक्षा संयन्त्रको निरिहपन बुझ्नु भन्दा पहिले हिजोको पत्रकार सम्मेलनबारे प्रहरीमा कुन तहको ‘कोअर्डिनेसन’ हुने रहेछ भन्ने बुझौँ ।
आम चासोको विषयमा प्रहरीको पत्रकार सम्मेलन हुँदै गर्दा समेत समन्वयको अभाव देखिन्थ्यो । पत्रकार सम्मेलनको निर्धारित समयमा समेत त्यसको प्रबन्ध नभएको विषयले पछिल्लो समय प्रहरी संगठनभित्र समन्वय अभाव हुँदै गएको र तीनकुनेमा समेत सोही विषयले प्राथमिकता पाउँदा भीड नियन्त्रणबारे प्रश्न उठेको हुनसक्ने देखिन्छ ।
आशा दिने भन्दा पन्छिने दाउमा प्रहरी
राज्यको निरिहपन उदांगिएको बेला नागरिकहरुले तीनकुने घटनाबारे सत्य तथ्य प्रहरीले बाहिर ल्याउने आशा मारिसकेका त छैनन् । तर प्रहरीको गोलमोटल जवाफ, सूचना संकलनमा नै कमी, नागरिकलाई गोली लागेर घाइते र मृत्युमा समेत गैरजिम्मेवार जवाफ, भौतिक संरचना जोगाउन नसकेको विषयमा समेत जिम्मेवारी नलिँदा थप प्रहरी संगठन र राज्यप्रति थप आक्रोश पैदा भइरहेको देखिन्छ ।
पत्रकार सम्मेलनको सुरुमा नै तीनकुनेको घटनाक्रम कसरी विकसित भएको भन्दै प्रहरीले तयार पारेको भिडियो देखाइएको थियो ।
प्रहरीका अनुसार चैत १५ गते शुक्रबार मध्यान्न १२ः १५ बजेबाट १३ः२२ सम्म शान्त माहोल भड्किसकेको थियो ।
सो समयमा के के भयो ?
- प्रहरीसँग धक्काधक्की
- प्रहरीद्वारा सम्झाइबुझाइ गरि पठाइएको
- पुनः प्रदर्शनकारी अराजक भइ निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप
- प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा
- १२ः५० बजे स्थिति नियन्त्रणमा लिन १ राउण्ड टियर ग्यास
यसैबीचमा राजासमर्थित एक व्यक्तिले मञ्चबाटै तीनकुनेमा बस्ने मात्र नभएर नेताहरुको घर जलाउन जाने भन्दै भीडलाई उचाल्छन् ।
‘अब हामी नेताको घरदैलो जलाउने कार्यक्रम गर्नुपर्छ । हामी दिनदिनै आएर यहाँ टाइम वेस्ट गर्न चाहँदैनौँ, हाम्रो समय पनि छैन । अब नेताको घरमा गएर आगो लगाउने हो । हामी यहाँ देउसी भैलो खेल्न आएको होइन, आगो लगाउने हो अब,’ ती व्यक्तिको उग्र भाषणपछि माहोल थप बिथोलिएको प्रहरीको आशंका छ ।
प्रहरीको तथ्यांक अनुसार त्यस दिन बिहान ११ः४५ बजेदेखि १२ः१५ बजेको बिचमा ३ हजारदेखि ३५ सय मान्छे त्यहाँ जम्मा भएका थिए ।
त्यसपछि त्यहाँ जम्मा भएको भीडले प्रहरीको सुरक्षा घेरा तोड्न खोजेर सिंहदरबार र विमानस्थलमा जाने भन्ने भएपछि माहोल विस्तारै अशान्तितिर गएको प्रहरीको आँकलन छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यका अनुसार दिउँसो १ बजेर २३ मिनेटमा दुर्गा प्रसाईँ कोटेश्वर क्षेत्रबाट त्यसतर्फ आइ सिधै कार्यक्रमस्थलतर्फ नगइ प्रहरीको सुरक्षा घेरातर्फ गएपछि भने माहोल बिग्रिएको र धनजनका क्षति हुन पुगेको थियो ।

सोही क्रममा आफैँ गाडी चलाएर प्रहरीको सुरक्षा घेरा नै तोडेर भागेका दुर्गा प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लेखेको देखिन्थ्यो ।तर केहीबेरमा छाडिदिएपछि उनी पुनः मन्चतर्फ पुगेर भीडलाई उत्तेजित पारेपछि माहोल थप बिथोलिएको थियो ।
‘तत्काल प्रहरीले नियन्त्रणमा लियो, पछि कार्यालयतर्फ लैजान लाग्दा त्यो भीडले दुर्गा प्रसाईँलाई पञ्जाबाट खोस्न सफल भयो,’ उनले भने, ‘त्यसपछि पुनः केही व्यक्तिहरु मञ्चमा गएर अब संसद्भवन, सिंहरबार र एयरपोर्ट कब्जा गर्न जानुपर्छ भन्दै भीडलाई दुर्गा प्रसाईँ, रविन्द्र मिश्रहरुले माइकिङ गरेको अवस्था देखिन्छ ।’
त्यो राजनीतिक कार्यक्रम नभएर अराजकता मच्याउन भीड रहेको प्रहरीको दाबी छ । सुरुवातबाट नै प्रसाई नेतृत्वको आन्दोलन थप उत्तेजित हुने दाबी प्रहरीको रहेको थियो, तर त्यति हुँदा समेत प्रसाईँलाई पक्राउ र भीड नियन्त्रण गर्न नसक्नु प्रहरीको समेत कमजोरी देखिन्छ ।
राजावादी आन्दोलनमा केही घुसपैठ भएको र प्रहरीले नै धरपकड गरेपछि आन्दोलन थप उत्तेजित भएको आरोप समेत लागेको छ । कार्यक्रम सुरु हुनु भन्दा पहिले नै घरको छतछतमा प्रहरी रहेको प्रदर्शनकारीको आरोप छ । यता प्रहरी प्रवक्ता आचार्य भने घरमा कुनै किसिमका प्रहरी नरहेको दाबी गर्छन् ।
‘कुनै पनि घरको छत र घरमा नै कोही पनि प्रहरीहरु नभएको अवस्था थियो । तर त्यही नै निहुँ बनाएर त्यही अवस्थामा भित्र गएर धेरै घरहरु तोडफोड र हिंसात्मक घटनाहरु भएको देखिन्छ,’ उनले भने ।
प्रहरीमाथि निर्मम रुपमा ढुंगा इटा प्रहार हुँदा समेत प्रहरीले न्यून बल प्रयोग गरेरै भए पनि अवस्था नियन्त्रणमा लिने प्रयास गरेको उनको दाबी छ ।
भीड उत्तेजक भयो भने कम क्षतिमा अवस्थालाई नियन्त्रणमा लिनुपर्ने हुन्छ । भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रयोग गर्ने गर्दछन्, जुन मानव स्वास्थ्यका हिसावले गम्भीर मानिन्छ । अझ मिति सकिएको (डेट एक्स्पायर) अश्रुग्यासको प्रयोग झन हानिकारक मानिन्छ । तर प्रहरीले भने पटकपटक मिति सकिएकै अश्रुग्यासको प्रहार गरी भीड नियन्त्रणको प्रयास गरेको देखिन्छ ।
‘…त्यसपछि १४ बजेर ५ मिनेटमा प्रदर्शनकारीहरुले निर्मम तरिकाले प्रहरीको एउटा समूहलाई ट्र्यापमा पारेर इटाहरुले धेरै हिसाबले ढुंगा प्रहार गरेर त्यहीनेर नै ज्यान लिनेसम्मको अवस्था सिर्जना गरेको थियो । तर त्यति हुँदा पनि प्रहरीले धेरै संयमित भएर कुनै पनि किसिमको लिटल हतियारहरु प्रयोग नगरीकन सकेसम्म साधारण बल प्रयोग गरेर नियन्त्रण गर्ने प्रहरीको उदेश्य रहेको थियो,’ उनको दाबी छ ।
त्यतिबेलासम्म अश्रुग्यास मात्रै प्रहार गरिरहेकोमा विमानस्थलतर्फ प्रदर्शनकारीहरु पुगेर पेट्रोलियम पदार्थमा आगजनी गर्ने र थप अराजकता फैलाउने संकेतपछि मात्रै प्रहरीले गोली पहिलोपकट २ बजेर ५४ मिनेटमा गोली चलाएको आचार्य बताउँछन् ।
लागुऔषधका गाडी र प्रहरीलाई जलाउने प्रयासको आशंका
डीआईजी आचार्यका अनुसार सो दिन घटनास्थलको नजिकै रहेको लागुऔषध ब्यूरोको गाडीहरु जलाइएको र त्यहाँ रहेका प्रहरीलाई समेत जलाउने प्रदर्शनकारीको तयारी रहेको आरोप छ । ब्यूरोबाट बारम्बार सुरक्षाको माग गरिएको र त्यही समयमा भाटभटेनी लगायत क्षेत्रमा लुटपाट गरिएको तथा त्यसतर्फ जाने अवस्था समेत सुरुमा नबनेको आचार्य बताउँछन् ।
‘तीनकुनेमा रहेको प्रहरीहरुले तत्काल लागुऔषधमा भएको प्रहरीहरुको रेस्क्यू नगरे, भाटभटेनी, कोटेश्वरको प्रहरीलाई रेक्स्यू नगरे अथवा जडिबुटीमा रहेको प्रहरीलाई रेस्क्यू नगरे ती व्यक्तिहरुलाई पनि हत्या हुनसक्ने चरम आशंका भएको थियो । त्यो अवस्थामा तीनकुनेबाट प्रहरी अघि बढेर भीड नियन्त्रण गर्नुपर्ने अवस्था रहेको थियो । त्यही अवस्थामा ३ बजेर ९ मिनेटमा प्रहरीले अर्को गोली चलाएको थियो, जसमा सविन महर्जन लगायत अन्य व्यक्तिमाथि गोली प्रहार हुन पुग्यो । र त्यो अवस्थामा धेरै गोली लागेको अवस्था हो ।’
नागरिकमाथि गोली प्रहारमा प्रहरीको लाचार जवाफ
आन्दोलनका क्रममा ५५ जना नेपाल प्रहरी, २३ जना सशस्त्र प्रहरी र ५३ जना प्रदर्शनकारीगरी कुल १३१ जना घाइते भएका थिए । त्यसमध्ये २० जनामाथि त गोली नै प्रहार भएको थियो । गोली प्रहारबाट कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भयो ।
प्रदर्शनमा नै नआएका घर पस्नै लागेका दाजुबहिनीमाथि समेत प्रहरीले गोली प्रहार गर्यो । मृतक र घाइतेका परिवारहरु न्यायको माग गरिरहँदा सरकार भने प्रदर्शनकारी र आयोजकलाई आरोप लगाउँदै उम्किने तयारीमा देखिन्छ ।
‘गोली लाग्यो त अहिले उपचार भइरहेको छ । कोटेश्वर भाटभटेनी नजिक ठूलो लुटपाटका घटनाहरु भए । ठूलो संख्यामा मान्छेहरु उपस्थित भएको अवस्था थियो । त्यही नजिकै तल गाडी जलाएको अवस्था थियो । प्रहरीले नियन्त्रणमा लिने अवस्थामा गोली हानेको हो । त्यो गोली हान्ने बेला उहाँ (रेविका खत्री र दिनेश खत्री) को तिघ्रानेर गोली लागेको अवस्था थियो,’ आचार्य भन्छन्, ‘प्रदर्शनकारी उहाँहरु भएको ठाउँमा होइन । उहाँहरु भन्दा विपरित हुनुहुन्थ्यो । त्यसमा गोली रिफ्लेक्ट भएको अवस्था हुनसक्छ । त्यसलाई हामी अनुसन्धान गर्छौँ ।’
दुर्गा प्रसाईँ पक्राउमा चुकेको प्रहरी
यसअघि पनि प्रसाईँले उत्तेजक आन्दोलन गरेका कारण उनको आन्दोलन कस्तो हुनेछ भन्ने प्रहरी र सरकारलाई पूर्वानुमान नहुने कुरै थिएन । अझ पूर्वराजा ज्ञानेन्द्र शाहकै आग्रहमा प्रसाईँ आन्दोलनको कमाण्डर बनाइएको विषयमा थप राज्य चनाखो हुनुपर्ने थियो । तर उत्तेजक भीड बनाएका प्रसाईँलाई समाते पनि प्रहरीले छाडेपछि थप माहोल बिग्रिएको देखिन्छ । तर प्रहरीले पक्राउ गरिसकेको व्यक्तिलाई समेत किन छाडेर मञ्चतर्फ जान दियो भन्ने प्रश्न उठेको छ ।
त्यहाँबाट केहीबेरमा फरार भएका प्रसाईँ आफू काठमाडौंमा नै रहेको भन्दै सामाजिक सञ्जालमा भिडियो समेत पोस्ट गरेका छन् । भारततिर फरार रहेको आशंका गरिएको र खोजीकार्य तीव्र पारिएको प्रहरीको दाबी छ ।

‘अनुसन्धानकै क्रममा छ र हामी खोजीकै क्रममा रहेका छौँ । हामी छिट्टै पक्राउ गर्छौँ भन्ने विश्वस्त छौँ । त्यो मान्छे किन र कसरी भाग्यो भन्ने भन्दा पनि डेफिनेट्ली त्यो ठाउँमा ठूलो भीड थियो र प्रहरीले उसलाई पक्राउ गरेर लिएर जाँदै गर्दा सम्भव भएन,’ उनले भने, ‘गाडी पनि नियन्त्रणमा लिएको हो मान्छे पनि नियन्त्रणमा लिएको हो ।’
पटकपटक एकै गल्ती : प्रदर्शनकारीमाथि डेट एक्स्पायर टियर ग्यास
प्रदर्शनहरुमा प्रहरीको उपस्थिती भनेकै राज्यको उपस्थिती हुन्छ । भीड उत्तेजक भयो भने कम क्षतिमा अवस्थालाई नियन्त्रणमा लिनुपर्ने हुन्छ । भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रयोग गर्ने गर्दछन्, जुन मानव स्वास्थ्यका हिसावले गम्भीर मानिन्छ । अझ मिति सकिएको (डेट एक्स्पायर) अश्रुग्यासको प्रयोग झन हानिकारक मानिन्छ । तर प्रहरीले भने पटकपटक मिति सकिएकै अश्रुग्यासको प्रहार गरी भीड नियन्त्रणको प्रयास गरेको देखिन्छ ।
पछिल्लोपटक काठमाडौं केन्द्रित ०८० साल मंसिर ७ गते दुर्गा प्रसाईँले बल्खुमा गरेको आन्दोलनमा समेत प्रहरीले ‘डेट एक्स्पायर’ भएको ‘टियरग्यास’ प्रहार गरेको थियो ।
अन्तर्राष्ट्रिय जगतमा समेत मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने अश्रुग्यासको प्रयोग रोक्नुपर्ने विषयमा आवाज उठिरहेको छ । तर नेपालमा भने बारम्बार लापरबाही भइरहेको देखिन्छ ।
शुक्रबारको घटनामा राज्यले न्यूनतम बल प्रयोग गरेको दाबी गरिएको छ, तर प्रहरी प्रवक्ताको भनाइ अनुसार अवस्था नियन्त्रणमा लिनका लागी ७४६ थान अश्रुग्यास प्रहार गरेको थियो । त्यसमा सबैजसो अश्रुग्यास मिति सकिएको र केहीमा त मिति नै मेटिइसकेको भेटिएको थियो ।
पत्रकार सम्मेलनमा हामीसँग डेट भएको टियरग्यास चाँही थिएन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा आचार्यले भने, ‘टियरग्यास प्रहरीसँग छ । खरिदको प्रक्रियामा पनि छ । हामीसँग प्रशस्त छ ।’
यसअघि नै पटकपटक सो विषयमा कुरा उठेको भन्ने सञ्चारकर्मीको प्रतिप्रश्नमा उनले पुनः थपे, ‘अब के थियो ठ्याक्कै मैले भन्न सक्ने अवस्था छैन । तर कसैले पहिल्यैदेखि संकलन गरेर राखेर अहिले युज भएको पनि हुनसक्छ ।’

त्यसो त घरमाथिबाट समेत प्रहरीले धरपकड गरेको भन्ने विषयमा समेत सार्वजनिक भएका छन् । तर प्रहरी प्रवक्ता आचार्यले भने घरमाथिबाट टियरग्यास हानेको भन्दै सामाजिक सञ्जालमा आएको भिडियोहरु ‘डिप फेक’ भएको दाबी गरे । त्यस्तै प्रहरीले सो अवधिमा ५८ राउण्ड गोली चलाइएको थियो ।
त्यस अवधिमा १९२ पटक ब्ल्याक राउण्ड (गोली नभएको आवाज मात्रै निकाल्ने) प्रहार भएको थियो । पेस्तोलको गोली दुईवटा प्रहार रहेको उनले बताए ।
घटनाको क्षति संकलन भन्दा भीड गणनामा गृह प्रशासन
राजावादीहरुले आन्दोलनको पूर्व तयारी गरेका थिए । केही समयदेखि बिग्रिएको राजनीतिक माहोललाई राज्यले थप शान्त बनाउनुपर्ने सुझाव र नागरिकको अपेक्षा थियो । तर आन्दोलनको राँको सल्किरहेका बेला आन्दोलनलाई थप बल पुग्ने गल्ती राज्यले नै गरिदिँदा थप माहोल बिग्रिन पुग्यो । अझ राजावादी आन्दोलनको केही दिनअघि प्रधानमन्त्री स्वंयमको उत्तेजक अभिव्यक्तिहरुले आन्दोलनकारीलाई थप आक्रोशिक ब नजाउन पुगेको थियो ।
तीनकुने आन्दोलनपछि त्यसलाई सामान्य अवस्था तर्फ लैजाने कोसिस गर्नुपर्नेमा राज्यबाटै भीड गन्ने काम भएको थियो । सोही दिन गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले समेत प्रदर्शनीमार्गमा आन्दोलन गरेको थियो ।
गृह प्रशासनकै कुरालाई आधार मान्दा ३५ सय प्रदर्शनकारीको भीडलाई नियन्त्रण गर्न ५ हजार हाराहारी सुरक्षाकर्मी परिचालन हुँदा समेत कहाँ चुक्यो राज्यसंयन्त्र भन्ने प्रश्न टडकारो रुपमा देखिएको छ । त्यतिमात्र नभइ प्रहरीको उपत्यका र जिल्लाको नेतृत्वको कमाण्डलाई समन्वयकारी बनाउन नसक्दा तीनकुने घटनामा बढी क्षति समेत हुनपुगेको आशंका समेत देखिन्छ ।
तीनकुने घटनापछि साँझ पत्रकार सम्मेलन गरेर अशान्त माहोललाई शान्त बनाउने भन्दा पनि भीडको गणना गर्ने काम भयो, जुन निरीह राज्यको लाचारीपन देखिन्छ ।दिउँसो भएको घटनाको क्षतिबारे तादरुकताका साथ काम गर्नुपर्नेमा समाजवादीको कार्यक्रममा ३५ हजार र राजावादीको कार्यक्रममा ३–४ हजार मात्रै जम्मा भएको भन्दै भीडको गन्तीमा गृह प्रशासनको व्यस्तता देखिन्थ्यो ।
यता प्रहरी प्रवक्ताका अनुसार पहिल्यै ३ हजारदेखि ३५ सय जति मानिसहरु तीनकुनेमा रहेको र पछि दुर्गा प्रसाईँ आएपछि अर्को ३५ सय हाराहारीमा प्रदर्शनकारीहरु आएका थिए । त्यसमाथि अन्य स्थानबाट आएका अन्य ३–४ हजार मानिस आउँदा प्रहरीले निकालेको तथ्यांक र गृह प्रशासनले निकालेको तथ्यांकमा नै फरक देखियो । यसरी परस्पर समन्वय हुनुपर्ने संयन्त्रबीच नै समन्वय अभाव देखिँदा तीनकुनेमा समेत समन्वय देखियो कि आशंका उत्पन्न भएको छ ।
यता प्रसाईँको आन्दोलनलाई लिएर हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ५ हजार हाराहारी सुरक्षाकर्मी परिचालन गर्ने तयारी थियो । गृह प्रशासनकै कुरालाई आधार मान्दा ३५ सय प्रदर्शनकारीको भीडलाई नियन्त्रण गर्न ५ हजार हाराहारी सुरक्षाकर्मी परिचालन हुँदा समेत कहाँ चुक्यो राज्यसंयन्त्र भन्ने प्रश्न टडकारो रुपमा देखिएको छ । त्यतिमात्र नभइ प्रहरीको उपत्यका र जिल्लाको नेतृत्वको कमाण्डलाई समन्वयकारी बनाउन नसक्दा तीनकुने घटनामा बढी क्षति समेत हुनपुगेको आशंका समेत देखिन्छ ।
यो पनि
‘ग्राउण्ड जिरो’ तीनकुने : प्रहरी रहेको भन्दै ढुंगा हानिएको घरमा मैले जे देखेँ…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया