अब ७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवा : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
854
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । 

शुत्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताए  । उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस सरकारको रहेको बताए ।

नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्  । उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरे । आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए । मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्ने कुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए । 

मन्त्री पौडेलले भने, ‘५ वर्षअघि क्यान्सर हुनेहरूको संख्या कति थियो र आज कति छ ? आज सर्भाकल क्यान्सरबाट मृत्यु हुने महिलाको संख्या दिनमा ४ जना छ । आज भन्दा १५ वर्ष अगाडि यस्तो थिएन । अटिजमको समस्या भएकाहरूको संख्या आज भन्दा ५ वर्ष अगाडि जति थियो, आज तीन गुणा बढेको छ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार सेवा उपलब्ध गराउने कुरा असाध्यै कठिन हुन्छ । राज्यले थेग्नै नसक्ने गरी भार बढ्ने स्थिति हुन्छ । त्यसो हुनाले हामीले बिरामी बढाउने होइन । बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ । त्यसअन्तर्गत यी कामहरू भइरहेका छन् । हामीले निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन केके उपाय अपनाउन सकिन्छ, त्यसमा कोशिस गरिरहेका छौँ । हामीले स्क्रिनिङको कार्यक्रम व्यापक ढंगले सञ्चालन गरेका छौँ । आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोशिस गरिरहेका छौँ । हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पुर्‍याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन सबै नेपालीलाई आवश्यक छ । किनकी यो हाम्रो मौलिक प्रणाली हो । यो हाम्रो जीवनपद्धति हो । यो हाम्रो संस्कृति र सभ्यता पनि हो । आयुर्वेद विषयको नेपाल हब बन्नुपर्दथ्यो । नेपालबाटै यो उत्पत्ति भएको भन्ने कुरा संसारमा फिँजिनु पर्दथ्यो । ’

मन्त्री पौडेलले सरकारले बिरामी हुन नदिने उपायहरूको बारेमा खोजी गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?