वर्तमान संविधान प्रगतिशील छ, पञ्चायतमा त ‘निर्विकल्प’ लेखिएको थियो : बुद्धिमान तामाङ

लोकपथ
875
Shares

काठमाडौं । राजा समर्थित दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले वर्तमान संविधान प्रगतिशील रहेको भन्दै प्रशंसा गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै समिति सदस्य समेत रहेका तामाङले यो संविधानमा ‘निर्विकल्प’ नरहेको समेत बताए ।

विभिन्न धर्मग्रन्थजस्तो कुनै कुरा परिवर्तन नै नहुने जस्तो वर्तमान संविधान नरहेको भन्दै गणतन्त्रको रक्षा गर्छु भन्नेहरुको मतलाई आफूले सम्मान गर्ने बताए ।

आफू वर्तमान संविधान अनुसार जनताबाट अनुमोदित भएको र गृहमन्त्रीलाई प्रश्न गर्न पाएको बताउँदै पञ्चायतकालिन संविधानमा निर्विकल्प लेखिएको स्मरण गराए ।

‘सबै साथीहरुले गणतन्त्रको रक्षा गर्नुपर्छ भन्नुभयो, त्यो ठिक छ । आज म यहाँ बसेर गृहमन्त्रज्यूलाई प्रश्न गर्दैगर्दा म फरक विचारधाराबाट प्रतिनिधित्व गर्दै जनताको अभिमत लिएर यहाँ बसेको छु । हाम्रो वर्तमान संविधानले त्यो छुट दिएको छ । पञ्चायतको संविधानमा निर्विकल्प भनेर लेखेकै थियो । निर्विकल्प भन्ने केही पनि होइन । यो संविधान त निर्विकल्प होइन, गतिशील छ नि । यो संविधानमा तीन चारवटा बाहेक, सबै कुरा परिवर्तन हुन सक्छ,’ तामाङले भने, ‘हामीले एउटा कुरा सम्झिनुपर्यो कि यो व्यवस्था त्रिपिटक होइन, गीता होइन, कुरान होइन, बाइबल होइन । यो निर्विकल्प भन्नु पनि हुँदैन । जनताले चाह्यो भने सबै परिवर्तन हुन्छ ।’

त्यस्तै उनले गत चैत १५ गते तीनकुनेमा भएको घटनाको विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताए । साथै कुनै पक्षले उक्त घटनाको क्षतिबारे जिम्मेवारी नलिँदा आम नागरिकहरुमा आक्रोश पैदा भएको समेत बताए । तीनकुने घटनाका विषयमा न्यायिक छानबिन समिति बनाएर जानुपर्नेमा जोड दिए ।

साथै वर्तमान गृहमन्त्री रमेश लेखक कानुन जानेको व्यक्ति समेत भएकाले हरेक हिसावले न्यायसंगत ढंगले काम गर्नसक्ने क्षमता रहेको भन्दै प्रशंसा समेत गरे । तर कानुनकै ज्ञाता रहेको व्यक्ति गृहमन्त्री रहेको समयमा समेत यस्ता किमिसका घटना हुँदा समेत राज्य निरीह जस्तो बनेको भन्दै घटनाको निष्पक्ष छानबिनका लागि समेत माग गरे ।

यो पनि…

राप्रपा सांसद बुद्धिमान तामाङले दुर्गा प्रसाईँलाई ‘त्यो फोटावाला भनेपछि…’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?