काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा विकसित घटनाक्रमपछि प्रहरीले कुल १६१ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले सो विषयमा जानकारी दिएका हुन् ।
महानिरीक्षक थापाका अनुसार आन्दोलनकै दिन सिभिल ड्रेसमा खटिएको प्रहरीले १६१ जनालाई पक्राउ गरेको थियो, जसमा १४९ जना पुरुष र १२ जना महिला रहेका छन् ।
जसमध्ये ९४ जनालाई हाजिरी जमानीमा छाडिएको छ, जसमा ९० जना पुरुष र ४ जना महिला रहेका छन् ।
महानिरीक्षक थापाका अनुसार एक जनालाई राजद्रोहको मुद्दा चलाएर अनुसन्धान भइरहेको छ, भने ५८ जनालाई आपराधिक उपद्रहोको कसुरमा मुद्दा चलाइएको छ ।
त्यस्तै पक्राउ परेकामध्ये २० जनालाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको छ । उनीहरुलाई थप ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।
पक्राउ परेर हाजिरी जमानीमा नछुटिसकेकाहरुलाई व्यक्तिगत रुपमा मिहिन ढंगले अनुसन्धान भइरहेको उनले बताए ।
तीनकुने घटनामा प्रहरीले प्रदर्शनकारीहरुलाई दबाउन घर र भवनमाथिबाट टियरग्यास हानेको आरोप लागेको छ । तर प्रहरी महानिरीक्षक थापाले भने प्रहरीले घरमाथिबाट टियरग्यास नहानेको दाबी गरेका छन् । उनले प्रहरीले माथिबाट तला नभइ तलबाट माथि टियरग्यास हान्ने गरेको समेत स्पष्ट पारे ।
आन्दोलनका क्रममा नेपाल प्रहरीका ५५ जना, सशस्त्र प्रहरीका २५ जना र प्रदर्शनकारीका तर्फबाट ५४ जना घाइते भएका छन् ।
त्यस्तै उनले उक्त प्रदर्शनका मुख्य कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न खोजिरहेको बताए ।
सो दिन प्रसाईँ उम्किए पनि सादा पोसाकका प्रहरी परिचालन गरेर खोजिकार्य भइरहेको र छिट्टै पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया