काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा घरको छतबाट अश्रुग्यास प्रहार नभएको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै आईजीपी थापाले सो दाबी गरेका हुन् ।
सो दिन अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले घर र विभिन्न भवनका छतबाट अश्रुग्यास प्रहार गरेको आरोप रहेको छ । तर बाहिर आए जस्तो प्रहरीले कुनै घरको छतबाट अश्रुग्यास नहानेको उनको दाबी छ ।
‘तीनकुनेको घरबाट अश्रुग्यास प्रहार गरिएको छैन । अश्रुग्यास तलबाट माथि हान्ने हो । माथिबाट तल हान्ने होइन,’ आईजीपी थापाले भने, ‘घरमाथिबाट अश्रुग्यास हानिएको छैन । त्यस्तै मञ्चमा पनि अश्रुग्यास हानिएको छैन ।’
त्यस्तै सो क्रममा अधिकांश अश्रुग्यास म्याद सकिएको (डेट एक्स्पायर) समेत प्रयोग गरिएको थियो । तर आईजीपी थापाले भने आफूहरुले त्यस्ता किसिमका अश्रुग्यास प्रयोग नगरेको समेत दाबी गरेका छन् । तर सो दिन आन्दोलनका क्रममा प्रहार गरिएको अधिकांश अश्रुग्यास मिति सकिएको प्रयोग गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया