सुरेश रजकको घटनाबारे सशस्त्रका आईजीपी भन्छन्– ‘मान्छे छ भन्ने थाहा नै भएन’

लोकपथ
2k
Shares
राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा काठमाडाँैको तीनकुनेमा चैत १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग भएको छलफलमा धारणा राख्नुहुँदै सशस्त्रका प्रहरी प्रमुख राजु अर्याल । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीनकुने घटनामा आगोले जलेर मृत्यु भएका पत्रकार सुरेश रजकबारे सुरुमा आफूहरुलाई थाहा नै नभएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी अर्यालले सो कुरा बताए ।

उनले सशस्त्र प्रहरी बलबाट फिल्डमा खटिएकाहरु पटकपटक आगो लागेको मार्बल हाउसको तेस्रो तलामा पुगेको समेत दाबी गरे । तर चौथो तलामा ताला लगाइएकाले आफूहरुलाई त्यहाँ मान्छे छ भन्ने नै थाहा नभएको तर्क अर्यालको रहेको छ ।

‘आगलागी भएको भवनको ३ तलासम्म पुग्दा चौथो तलामा ताला लगाइएको रहेछ । धेरै पटक पुग्दा पनि भेटिएन । दमकलमा नै आगो लगाउने प्रयास गर्दा समस्या भयो । भित्र मान्छे छ भन्ने आशा गरिएन । तल आउँदा पनि निस्सासिएको अवस्था थियो । मृत्यु भएको शव निकाल्न त जोखिम मोलेर गरिने गरेको छ भने जीवित छ भन्ने थाहा भएको भए उद्धारमा नजाने भन्ने कुरै हुँदैन,’ उनले भने ।

तर फिल्डमा खटिएका सञ्चारकर्मीहरुका अनुसार भने पटकपटक सशस्त्र प्रहरीलाई आगो निभाउनका लागि आग्रह गरे पनि असहयोग गरेको आरोप लगाएका छन् ।

तीनकुने घटनापछि जनताको जीउधनको सुरक्षामा प्रहरी चुकेको आरोप लागेको छ । यता अर्यालले भने प्रहरी संगठनलाई साधनस्रोतको अभाव रहेको दाबी गरे ।

‘प्रहरी संगठनलाई साधनस्रोत अभाव छ । यसै समितिबाट निर्देशन सरकारलाई गयो भने बरु हामी सूची बुझाउँछौ,’ उनले भने ।

त्यस्तै उक्त प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईँ कार्यक्रमस्थलतर्फ नगएर प्रहरीको सुरक्षा घेरा तोड्न गएकाले अवस्था अनियन्त्रित बन्न पुगेको बताए ।
साथै आफूहरुले तीनकुने घटनामा थोरै बल प्रयोग गरेको समेत दाबी गरे । त्यस्तै प्रहरीले भीड नियन्त्रणका लागि थोरै बल प्रयोग गरे पनि प्रश्न उठ्ने र धेरै बल प्रयोग गरे पनि प्रश्न उठ्ने अवस्था रहेको टिप्पणी गरे ।

‘सुरुमा नै सभास्थलमा नगएर प्रहरीकोमा आएपछि तलमाथि भएको हो । सुरक्षा फौजले न्यून क्षतिमा गरेको हो । बल प्रयोग आवश्यकताका आधारमा भएको छ । यस्तो अवस्थामा प्रश्न उठ्न जरुरी छ । कम क्षतिमा काम गर्ने प्रयास गरेका छौं । ग्याँस गन लुटिएको छ । सुरक्षा निकायका घाइतेलाई पनि अस्पताल पुर्‍याउन अवरोध भएको थियो । ३ देखि ४ घण्टामा स्थिति नियन्त्रणमा लिएका थियौँ,’ उनले भने, ‘सुरक्षाको बारेमा कम बल प्रयोग गर्दा र बढी प्रयोग गर्दा पनि प्रश्न उठ्छ । सुरक्षामा कमजोरी भयो भने भित्र मिलाउनुपर्छ । बाहिर गयो भने राष्ट्रिय सुरक्षामा असर गर्छ ।’

यता नेपाल प्रहरीका प्रमुख दिपक थापाले पनि आफूहरुले कम बल प्रयोग गरेरै अवस्थालाई नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?