काठमाडौं । निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) को ४७औँ सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान गरेका छन् ।
इफाप्काको ४७औँ सम्मेलन चैत्र २५ गतेदेखि सिंगापुरमा हुँदैछ । यसअघि नेपालले २६औँ सम्मेलन सम्पन्न गर्दै सिंगापुरलाई अध्यक्षता हस्तान्तरण गरेको थियो । ४७औँ सम्मेलन भने सिंगापुरको अध्यक्षतामा सञ्चालन हुँदैछ ।
सम्मेलन अप्रिल ७ देखि १२ सम्म हुनेछ । सम्मेलनमा सहभागी हुन सिंगापुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्काको ४७औँ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै आफूहरू सहभागी हुन लागेको बताए ।
उनले इफाप्काको सम्मेलनसँगै मलेसियाको क्वालालम्पुरमा इफाप्काको केन्द्रीय समितिको बैठक पनि बस्ने जानकारी दिए । यस पटकको इफाप्का सम्मेलनमा भाइचारा सम्बन्ध बिस्तारका साथै निर्माण प्रविधिको बारेमा सूचना आदानप्रदान हुने बताए । इफाप्कामा सहभागी मुलुकले आफूलाई कसरी कार्यगत रूपमा एक ठाउँमा उभ्याउने ? भन्ने बारेमा पनि छलफल हुने बताए ।
उनले सिंगापुर र नेपाल कार्यगत रूपमा सहकार्यका साथ अगाडि बढिरहेको बताए । आगामी दिनमा पूर्वी एशियाका विकसित मुलुकसँग सहकार्य गरी नेपालको पूर्वाधार क्षेत्रलाई परिस्कृत गर्ने क्रममा अगाडि बढेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया