काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने उनको भनाइ छ । उनले अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै नभई अन्य ठाउँमा पनि दुई/चार लाख रुपैयाँ कमाउने स्थिति बनाउन सक्ने बताए ।
महामन्त्री थापाले भने, ‘हामी अबको ८/१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडामात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरूले दुई चार लाख रुपैयाँ कमाउने स्थिति हामी बनाउन सक्छौँ । त्यो पोर्टेन्सियल हामीसँग छ । तर त्यसका निम्ति सोच्नुपर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ । हाम्रो सुरुवात भइसक्यो । अलिकति गति बढाउनुपर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो । कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ । अरू स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ । एकदम पोजेटिभ, ओपन माइण्डेट । सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने । हाम्रो भागमा परेको काम हामीले र तपाईँको भागमा परेको काम तपाईँले गर्ने हो । अबको ८/१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन । हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ ।’
महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताए । आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया