थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री ओली

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरू खुलेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यावसायिक समुदायबिचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताए ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किए लगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए ।

‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्र रूपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ ती कानुनको सही रूपमा कार्यान्वयन हुनुपर्छ, ‘प्रधानमन्त्री ओलीले भने, ‘जनताको सरकारसँग भेट हुने बित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ । हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरू धेरै राम्रा छन् । थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरू खुलेको छ ।’

प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?