राप्रपाको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन, राष्ट्रिय झन्डासहित सहभागिता जनाउन आग्रह

लोकपथ
168
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनः स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन गरेको छ । 

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा सक्रिय सहभागी हुन अपिलसमेत गरेका छन् ।

समितिका संयोजक नवराज सुवेदी उनकै घरमा नजरबन्दमा रहेकाले समितिको कार्यवाहकको जिम्मेवारी गुरुङले बहन गर्दै आएका छन् । 

विज्ञप्तिमा गुरुङले राप्रपाको कार्यक्रममा राष्ट्रिय झन्डासहित शान्तिपूर्णरुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरेका छन् ।

राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ यही २६ गते मंगलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शन तथा आमसभा गर्दै छ । उक्त कार्यक्रमलाई समितिले अपनत्व प्रस्तुत गरेको हो ।

यसअघि चैत १५ मा दुर्गा प्रसाईंले आयोजना गरेको विरोध प्रदर्शनलाई पनि सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि त्यस दिनको प्रदर्शन र सभालाई समर्थन गरेको थियो । त्यस दिनको प्रदर्शन उग्र बनेपछि प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणालाई पक्राउ गरी हिरासतमा राखिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?