काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले बाँकेको नेपालगञ्जमा रहेको वीपी कोइरालाको शालिकमा भएको दुव्र्यवहार आफूहरुले नगरेको तर्क गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले वीपीको शालिकमा अन्य दलका कार्यकर्ताले घुसपैठ गरेको आरोप लगाए ।
त्यस्तै आफूहरुले त्यस्तो काम नगरेको उनको दाबी छ ।
शनिबार राति राप्रपासहित राजावादी शक्तिले वीपीको शालिकमा कालोमोसो दल्ने र कपडा बेरेर राखिदिने लगायतका हर्कतहरु गरेका थिए ।
त्यसबारेमा सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘राप्रपाले वीपीको वा अरु कसैको शालिकमाथि दुव्र्यबहार गर्यो भनेर कसैले भन्यो भने तपाई पत्याउनुहुन्छ ? इतिहासको सम्मान गरौँ भन्ने पार्टी र पार्टीका कार्यकर्ताले यस्तो उच्छृङ्खल र अराजक काम कदापि गर्दैन। यस्तो काममा कुन कुन पार्टीका मान्छेहरु संलग्न हुन्छन् भन्ने दुनियाँलाई थाहै छ त ! इतिहासको कुनै कालखण्डमा राष्ट्र निर्माणमा योगदान दिने व्यक्तिहरु हाम्रा लागि सम्मानयोग्य छन् । बिपीप्रति सम्मान छ । तीनकुनेमा जस्तै नेपालगञ्जमा पनि घुसपैठ भयो कि ! कांग्रेसलाई साखुल्य पार्ने निम्न कोटीको प्रयासको सम्भावना ।’
यता राप्रपा नेपालगञ्ज उपमहानरसमितिले भने त्यसमा क्षमा मागेको छ । आज विज्ञप्ति निकाल्दै नगरसमितिले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीलाई आफूहरुको सम्मान रहेको जनाएको छ ।
यता नेपाली कांग्रेस बाँकेका सचिव सुधांसु कोइरालाले उक्त कार्यमा संलग्नलाई कानुनी कारबाहीको माग समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया