काठमाडौं । सामाजिक सञ्जालमा देखिएको केही भिडियोप्रति बुद्ध एयरले ध्यानाकर्षण जनाएको छ । शनिबार काठमाडौंबाट भरतपुर र त्यसैगरि भरतपुरबाट काठमाडौंको उडान बाध्य भएर बुद्ध एयरले रद्द गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
हिजो काठमाडौं विमानस्थल ढिलो तथा आईएफआरका कारण उडानहरू क्रमशः ढिला हुन गएको थियो । भरतपुरको पहिलो उडान बिहान ७:२० बजे तथा दोस्रो उडान ८:४० मा रहेको थियो । भरतपुर विमानस्थल खराब मौसमका कारण १० बजेपछि मात्र सञ्चालनमा आएको थियो ।
जहाजमा प्राविधिक समस्या देखिएको र मर्मत सम्भारपछि यात्रुहरूलाई पुनः बोर्डिङ गराइएको थियो । पहिलो उडान ११:३८ मा भएको तथा दोस्रो उडानको बोर्डिङ सकिएपछि काठमाडौं विमानस्थलमा ‘नोटाम’ जारी भएको थियो । नोटाम सकिए लगत्तै भरतपुर विमानस्थल पुनः बन्द भएको थियो । विमानस्थल खुल्ने निश्चित नहुँदा दिउँसो २ बजे बाध्य भएर उडान रद्द गरिएको थियो ।
दिउँसो ३ बजे भरतपुर विमानस्थल पुनः खुल्दा त्यसअघिका केही यात्रुले उडान नं. ३५७ बाट गन्तव्यतर्फ उडेका थिए । भरतपुर विमानस्थल भीएफआर रहेको हुँदा त्यहाँ कम भिजिविलिटीले उडानहरू प्रभावित भएको थियो ।
आज पनि भरतपुर दिउँसो १ बजेपछि मात्र सञ्चालनमा आएको छ । बुद्ध एयरले बिहानको २ उडान आज पनि रद्द गरेको छ ।बुद्ध एयरसँग दुई वटा एटीआर ४२ जहाज मात्र रहेको छ । ती दुई जहाजबाट मात्र भरतपुरको उडान हुने गरेको छ ।
बुद्ध एयरसँग रहेको अर्को एटीआर–७२ विमानबाट भरतपुर उडान भर्नका लागि आवश्यक सबै तयारी पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा महिनौँ अघि नै निवेदन दर्ता गराइसकेको छ । सम्बन्धित निकायको अनुमतिपश्चात परीक्षण उडान गरी चाँडै नै एटीआर–७२ विमानबाट भरतपुर उडान सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बुद्ध एयरसँग १६ वटा एटीआर–७२ रहेको र यस विमानबाट उडान सुचारु भएपछि यस किसिमका समस्या स्वतः समाधान हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया