काठमाडौं । एक सातादेखि अस्वस्थकर रहँदै आएको काठमाडौं उपत्यकाको वायु प्रदूषण आज सोमबार पनि विश्वको दोस्रो सूचीमा रहेको छ ।
आईक्यू एअरले सोमबार बिहान ६ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।
लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जंगलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको हो ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
वायु प्रदूषणमा भारतको राजधानी नयाँदिल्ली एक्यूआई २७७ सहित पहिलो र पाकिस्तानको लाहोर २०८ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकांक ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया