बिहान विश्वकै दोस्रो ‘प्रदूषित’ शहर बनेको काठमाडौं दिउँसो पहिलो नम्बरमा, उच्च सावधानी अपनाउन सुझाव

लोकपथ
1.5k
Shares

काठमाडौं । काठमाडौं उपत्यका आज सोमबार फेरि विश्वकै ‘प्रदूषित’ शहर बनेको छ । बिहान दोस्रो प्रदूषित शहर बनेको काठमाडौं दिउँसो फेरि पहिलो नम्बरमा उक्लिएको हो ।

वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार, आज बिहान पौने ६ बजे काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई २१३ थियो । प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई २६० र तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ थियो । 

तर ११ः४५ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा पुगेको हो । सो समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २२४ छ ।

यस्तै, दोस्रो स्थानमा भारतको राजधानी नयाँदिल्ली परेको छ । नयाँदिल्लीको एक्यूआई १८९ छ । त्यस्तै तेस्रोमा इराकको बगदादको १८१ छ । यीबाहेक अरू सहरको एक्यूआई १७० भन्दा कम छ ।

दुई साताको अवधिमा काठमाडौं विश्वकै ‘प्रदूषित’ शहरको रूपमा पटक पटक पर्दै आएको छ । 

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्ध वृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

जनस्वास्थ्यविद्ले केही दिनयता काठमाडौंको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै उच्च सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेले उच्च सावधानी अपनाउन आग्रह गर्दै आएको छ । मन्त्रालयले साँझ बिहानको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?