ट्रम्पका स्वास्थ्य मन्त्री केनेडीले दादुरा खोपलाई कम आँकेपछि स्वास्थ्यविज्ञहरु चिन्तित

लोकपथ
679
Shares

वासिङ्टन । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान लिएको छ । अधिकारीहरूले आइतबार अत्यधिक संक्रामक दादुरा रोग फैलिँदै गर्दा अहिलेसम्म करिब छ सय ५० जना संक्रमित भएको बताएका छन् ।

‘भर्खरै दादुरा भएको पत्ता लागेको एक विद्यालय उमेरका बच्चाको निधन भएको खबर सुनेर हामी निकै दुःखी छौँ,’ टेक्सासको मेडिकल सेन्टर, युएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले भने । 

उक्त बच्चाले अस्पतालमा ‘दादुरा जटिलताहरू’ को लागि उपचार प्राप्त गरिरहेको भन्दै उनले बच्चालाई ‘दादुरा विरुद्धको खोप नलगाइएको र कुनै अन्तर्निहित स्वास्थ्य समस्या नभएको बताए । 

अमेरिकाले वर्षौँको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुझिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपको महत्वलाई कम आँक्ने आफ्नो विगतको बयानबाजीले स्वास्थ्य विज्ञहरूलाई चिन्तित बनाएको छ । तथापि केनेडीले आइतबार एक्समा ‘दादुरा फैलन रोक्ने सबैभन्दा प्रभावकारी तरिका एमएमआर खोप हो’ भनेर लेखेका छन् । 

उनले आफ्नो स्वास्थ्य तथा मानव सेवा (एचएचएस) विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू (सिडिसी) ले टेक्सासमा खोप वितरणलाई सहयोग गरिरहेको बताए । 

बच्चाको परिवारलाई सान्त्वना दिन टेक्सास गएको बताउने केनेडीले आइतबारसम्म ‘२२ राज्यमा दादुराका छ सय ४२ पुष्टि भएका मामिलाहरू र तीमध्ये चार सय ९९ टेक्सासमा’ रहेको पनि उल्लेख गरे । 

एयर फोर्स वानमा पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले प्रकोपलाई ‘अहिलेसम्म हामीले कुरा गरिरहेको कुराको तुलनामा सापेक्षिक रूपमा सानो संख्या’ भनेर कम आँकेको देखिन्थ्यो । तर उनले थप विवरण नदिई यदि ‘बढ्दै गयो भने धेरै कडा कारबाही गर्नुपर्ने’ बताए । 

सिडिसीले अलास्कादेखि फ्लोरिडासम्मका साथै न्युयोर्क सहरमा फैलिएका मामिलाहरू रेकर्ड गरेको छ । टेक्सासले फेब्रुअरीको अन्त्यमा पहिलो पटक दादुराबाट बच्चाको मृत्यु भएको रिपोर्ट गरेको थियो । लगभग एक दशकमा यस रोगबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो ।

गत महिना न्यु मेक्सिकोका एक वयस्कको मृत्युलाई पनि सिडिसीले दादुरासँग सम्बन्धित मृत्युका रूपमा वर्गीकृत गरेको थियो ।

सिडिसीले अप्रिल ३ मा भनेअनुसार सिडिसीले गणना गरेका दादुराका अधिकांश मामिलाहरू – ९७ प्रतिशत – दादुरा विरुद्ध खोप नलगाएका बिरामीहरू हुन् । तीमध्ये एक सय ९६ जना पाँच वर्ष मुनिका, दुई सय ४० जना ५–१९ वर्षका र थप एक सय ५९ जना २० वर्ष वा सोभन्दा बढी उमेरका थिए भने अन्य केही अज्ञात उमेरका थिए ।

‘प्रकोप’ लाई तीन वा बढी सम्बन्धित मामिलाका रूपमा परिभाषित गर्ने सिडिसीले सन् २०२५ मा अहिलेसम्म छ वटा प्रकोप रेकर्ड गरेको छ । पुष्टि भएका मामिलामध्ये करिब ९३ प्रतिशत ती प्रकोपहरूसँग सम्बन्धित छन् ।

‘तुलनात्मक रूपमा सन् २०२४ मा १६ प्रकोप रिपोर्ट गरिएको थियो र ६९ प्रतिशत घटनाहरू (दुई सय ८५ मध्ये एक सय ९८) प्रकोपसँग सम्बन्धित थिए,’यसले आफ्नो वेबसाइटमा भन्यो ।

‘यो दुर्भाग्यपूर्ण घटनाले खोपको महत्त्वलाई जोड दिन्छ,’, टेक्सासको युएमसी हेल्थ सिस्टमका डेभिसले पछिल्लो मृत्युको बारेमा इमेलमा भनिन्, ‘हामी सबै व्यक्तिलाई आफ्नो र व्यापक समुदायको रक्षा गर्न आफ्नो खोपहरूसँग अद्यावधिक रहन प्रोत्साहित गर्दछौँ ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?