काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा सोमबार साँझ भएको एक सवारी दुर्घटनामा एक बालिकासहित दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार शिवगढिया मोड नजिक लु १ च २७६३ नम्बरको यात्रु बोकेको भ्यान तीव्र गतिमा मोडमा पुग्दा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गैँडहवा गाउँपालिका–१ की १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ की ४८ वर्षीया जानमती यादवको मृत्यु भएको हो ।
दुर्घटनामा परेका मध्ये तीन जनाको उपचार लुम्बिनीको लाइफ केअर अस्पतालमा भइरहेको छ भने १९ जना घाइतेलाई भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
दुर्घटनापछि सवारी चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ का २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, सामान ढुवानीका लागि बनाइएको पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु राखिएकाले सन्तुलन गुमी दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया