वायु प्रदूषण : ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

लोकपथ
378
Shares

काठमाडौं । वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बिहानैदेखि प्रभावित बनेको छ ।काठमाडौंको वायुमण्डलीय अवस्था अत्यधिक प्रदूषित बनेपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरू प्रभावित भएका हुन् ।

विमानस्थल स्रोतका अनुसार कम भिजिबिलिटी (दृश्यता) का कारण आज बिहानदेखि धेरै उडानहरू निर्धारित समयमा सञ्चालन हुन सकेनन् ।

प्रदूषणको प्रभावमा परेका प्रमुख उडानहरूमध्ये समिट एयरको लुक्ला जाने उडान ढिलाइ भएको छ। त्यसैगरी यती एयरलाइन्सको पोखरा उडान र बुद्ध एयरको भरतपुर तथा पोखरा उडानहरू पनि समयमा उड्न सकेनन् । यती एयरको अर्को पोखरा उडानसमेत प्रभावित भएको छ।

यद्यपि खराब मौसमका बीच श्री एयरलाइन्सको माउन्टेन फ्लाइट र नेपाल एयरलाइन्सको रुकुम उडान भने सफलतापूर्वक सम्पन्न भएको विमानस्थल स्रोतले जनाएको छ।

यसैबीच, मौसमको प्रतिकूलताले केही अन्तर्राष्ट्रिय उडानहरूमा पनि ढिलाइ भएको छ। विमानस्थल प्रशासनले स्थिति अनुसार आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ भने यात्रुहरूलाई सहनशीलता अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?