सिराहा । सिराहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा जंगली जनावर तर्साउन थापिएको विद्युतीय धरापमा परेर एक बालिकाको भएको छ । घाँस काट्न गएकी १३ वर्षीया बालिका गुलसना खातुनको धरापमा परेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मकैबाली जोगाउन भन्दै विद्युतीय धराप राख्ने काम गरेका सोही वडाका २४ वर्षीय वीरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
घाँस काट्न जान्छु भनेर घरबाट निस्केकी खातुन फागुन २९ गते बिहानदेखि बेपत्ता थिइन् । त्यसको भोलिपल्ट आमा जेहदा खातुनले मिर्चैया प्रहरीमा छोरी हराएको जानकारी गराउँदै खोजीका लागि निवेदन दिएकी थिइन्।
हराएको १३ दिनपछि, चैत १२ गते घुर्मी खोलाको किनारमा बालिकाको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको थियो । शव सडेगलेको अवस्थामा भेटिएपछि घटनाले थप गम्भीरता पाएको थियो ।
घटनाको अनुसन्धानमा मिर्चैया प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो र मधेस प्रदेश प्रहरीको संयुक्त टोली खटिएको थियो। अनुसन्धानकै क्रममा चैत २४ गते सार्कीलाई पक्राउ गरिएको हो ।
प्रहरीले घटनास्थलबाट बालिकाले प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा फागुन २९ गते बिहान करिब ९ बजेतिर धरापमा परेकी बालिका चिच्याएपछि अभियुक्तले डरले शवलाई बोरामा हालेर खोला किनारमा गाडेको खुल्न आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया