काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनीतिक व्यवस्था खोजेको बताएका छन् ।
पार्टीद्वारा आज राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनीतिक समझदारी गर्नु रहेको बताए।
उनले यही चैत १५ गते गिरफ्तार भएका आफ्ना पार्टीका नेताहरूको रिहाइ गर्न माग गर्दै भृकुटीमण्डपमा खबरदारी सभा गर्न नदिएकोमा आपत्ति प्रकट गरे ।
सो पार्टीका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकका ठुला भनिएका राजनीतिक दलहरूले देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै जनताले त्यसको हिसाब गर्ने बताए ।
पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबराले मुलुकका प्रमुख राजनीतिक दलहरूले पूर्वराजासँग गरेको सम्झौता उल्लङ्घन गरेको आरोप लगाए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया