काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा सेनिटरी प्याड खरिदका लागि प्रति प्याकेट ७९.१ रुपैयाँ कायम गरेर ठेक्का दिइएको थियो। सो क्रममा मूल्य फुकुवा गरी सार्वजनिक स्रोतको दुरुपयोग गरिएको ठहर गर्दै आयोगले रु ५१ लाख ९९ हजार १२० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
मुद्दामा संलग्न व्यक्तिहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ रहेका छन्।
त्यस्तै, हैटौडास्थित सागरदेवी फर्माका सञ्चालक विमलेश साहमाथि पनि सरकारी कर्मचारीसँग मिलेमतो गरेर अवैध लाभ लिएको आरोप लगाइएको छ। आयोगले सबै अभियुक्तहरूलाई बिगो बमोजिम कानुनी कारबाहीको माग गरेको जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सार्वजनिक सेवा वितरणमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्न यस्ता कारबाही आवश्यक रहेको स्पष्ट पारिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया