तीनकुने घटना : नेपालीको संयोजकत्वमा नागरिक छानबिन आयोग गठन

लोकपथ
931
Shares

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ को तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि नागरिक छानबिन आयोग गठन गरेको छ ।

वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा नागरिक छानबिन आयोग गठन गरिएको समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।

नागरिक आयोगको सदस्यहरुमा पूर्व एआईजी रविराज थापासहित डा. रामप्रसाद उप्रेती, डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहेका छन् ।

उक्त समितिलाई समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले समर्थन गरि पारित गरेका थिए ।

तीनकुनेमा भएको हिंसात्मक घटनाको छानबिनका लागि सरकार र मानवअधिकार आयोगले समेत कुनै चासो नदेखाएको भन्दै आफूहरुले नागरिक छानबिन समिति गठन गरिएको दाबी गरिएको छ ।

‘चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्काएर भए गरिएका गम्भीर मानवअधिकार हननको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोग र सरकारले समेतबाट छानबिन नगरी विश्वसामु नेपालको छबी धुमिल बनाएकोले राष्ट्रिय जीवनका विविध क्षेत्रका विशिष्ठ व्यक्तित्व र संघसंस्थाहरुको तर्फबाट अनुसन्धान गरिदिन प्रस्ताव गरिएकोमा स्वीकार गरी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

संयुक्त जनआन्दोलन समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजतन्त्र पुनस्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने घोषणा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?