…अनि केशरबहादुर विष्टले दुर्गा प्रसाईँलाई फोन गरेर भने– ‘ए भाइ राजाले कहाँ बत्ति बाले ?’

लोकपथ
10.6k
Shares

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका संयोजक एवं पूर्वमन्त्री केशरबहादुर विष्टले राजावादी शक्तिहरु पछिल्लो समय एक ठाउँमा आएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

नेपालमा गणतन्त्र स्थापनाको १५ वर्षसम्म पूर्वराजा ज्ञानेन्द्र शाह चुप लागेर बसेको तर आफूहरुकै आग्रहमा सार्वजनिक कार्यक्रममा देखिन थालेको समेत बताए ।

०७९ साल फागुन एक गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेको कार्यक्रममा देखिएपछि ज्ञानेन्द्र शाह अन्य स्थानमा पुगेर नागरिक अभिनन्दनमा सहभागि भएको समेत बताए । साथै सो कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र केही नबोले पनि दुर्गा प्रसाईँले गलत प्रचार गरेको समेत बताए ।

प्रसाईँले ०७९ साल फागुन १ गते झापाबाट ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियान’ को शुभारम्भ गरेका थिए । जहाँ पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाह लगायत राजपरिवारका सदस्यहरु सहभागि भएका थिए । पूर्वराजा ज्ञानेन्द्रले शान्तिको प्रतिक सेतो परेवा उडाएर कार्यक्रम शुभारम्भ गरे पनि प्रसाईँले भने पानसमा दिप बालेर कार्यक्रम शुभारम्भ गरेको दाबी गरेका थिए । विष्टले त्यस भनाइप्रति कटाक्ष गर्दै ज्ञानेन्द्रले बत्ति नबालेको बरु सेता परेवा उडाएको भन्दै सम्झाएको स्मरण गराए ।

‘दुर्गा प्रसाईँजीले झापामा महाराजधिराज सरकारलाई निम्ता गरिसकेपछि आजभन्दा तीन वर्ष अगाडि महाराजधिराज सरकार त्यहाँ सवारी भएपछि राजाले मुखले धेरै चिज बोल्ने भन्ने होइन । कतिपय कुराहरु सांकेतिक हुन्छन्, कामहरु सांकेतिक हुन्छन् ।दुर्गा प्रसाईँजीको सभामा महाराजधिराज सरकारबाट शान्तिको प्रतिक परेवा उडाइदिबक्स्यो फागुन १ गते । सरकारले बोलेको, भनेको, भाषण गरेको होइन । पछि दुर्गा प्रसाईँजीले राजाले बत्ती बाल्या, बत्ती बाल्या भन्दै जानुभयो मैले भने ए भाइ कहाँ बत्ती बाल्या परेवा उडाएको ! परेवा उडाएको भन्नुस् न, नबालेको बत्ति बाल्या भन्नुहुन्छ भनेर फोन गरेर भन्दै थिएँ । अँ दाई त्यो त सत्य हो तर प्वाक्कै मुखबाट निस्किहाल्यो, भन्नुभयो । उहाँको मुखबाट प्वाक्कै धेरै कुरा निस्किन्छ र त फसाद पर्छ,’ त्यस प्रशंगबारे बोल्दै पूर्वमन्त्री समेत रहेका विष्टले भने ।

उनले तीनकुने घटनामा पूर्वराजालाई जोडेर हेरिएको भन्दै कटाक्ष व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?