काठमाडौं । केही दिनदेखि संसारकै प्रदूषित शहरको सूचीमा रहेको काठमाडौंको हावाको गुणस्तरमा आजदेखि सुधार आउने अनुमान गरिएको छ । आज बिहान पानी परेसँगै काठमाडौंको वायु गुणस्तरमा केही सुधार आउने अनुमान गरिएको हो ।
वर्षाले वायुमण्डलमा रहेका धुलो र सूक्ष्म कणहरूलाई पखालिदिँदा वायु स्वच्छ बन्ने क्रममा देखिएको हो ।
हिजो दिउँसो विश्वकै अत्यधिक प्रदूषित सहरहरूमध्ये दोस्रो स्थानमा रहेको काठमाडौं आज बिहान १२औं स्थानमा झरेको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद्का अनुसार आज, भोलि र पर्सिसम्म पानी पर्ने सम्भावना रहेकाले वायुको गुणस्तर अझै सुधार हुने अपेक्षा गरिएको छ।
आईक्यूएयरको तथ्यांकअनुसार, आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (AQI) ११९ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । यो स्तर केही सुधारिएको भए पनि अझै संवेदनशील समूहका लागि हानिकारक मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत AQI मापदण्ड अनुसार, १०१–१५० को स्तर संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया