नेताहरूको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठ्यो : मन्त्री गुरुङ 

लोकपथ
259
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरूको संघीयता विरोधी मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । राजनीतिक दलहरूले शीर्ष नेताहरूलाई प्रदेशमा पठाउन नसकेको कारण प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । 

प्रदेशका समस्याहरू बल्झिएको र संघीयतामाथि प्रश्न उठ्न थालेकोले सरकार अन्तर प्रदेश परिषद्लाई व्यवस्थित बनाउन लागि रहेको दाबी गरे । उनले तीन तहको सरकारबिच समन्वय र सहकार्यको वातावरण बनाउन राष्ट्रिय समन्वय परिषद् समेत गठन गरिएको बताए । 

संघीयताको सफल कार्यान्वयन गरी बलियो बनाउने कानुन र ऐन बनाउन जरुरी रहेको बताए । उनले वित्तीय संघीयता कार्यान्वयन गर्ने ऐन हुँदाहुँदै पनि वित्तीय संघीयता कमजोर हुँदै गएको बताए । प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म संघीयताको सफल कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।  

मुलुकमा रहेको विकासको असमानतालाई हटाउन तल्लो तहलाई वित्तीय अधिकार प्रदान गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?