नेपालमै छु भनेका दुर्गा प्रसाई भारतबाट पक्राउ, काठमाडौं ल्याइँदै

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाई पक्राउ परेका छन् । भारतको आसामबाट उनी पक्राउ परेको प्रहरी श्रोतले बताएको छ ।

गत चैत १५ गते भएको हिंसात्मक आन्दोलनमा कमान्डर रहेका प्रसाई घटनामा दुई जनाको मृत्यु भए लगत्तै भागेर भारत पुगेका थिए । सुरुमा भारतको उत्तराखण्ड क्षेत्रमा रहेका भनिएका प्रसाई त्यहाँबाट समेत भागेर आसाम पुगेको प्रहरीको भनाई छ ।

नेपाल प्रहरीको तीव्र खोजीमा रहेका प्रसाईमाथि भारतमा समेत धरपकड सुरु भएपछि उनी नेपाल फर्कने भन्दै भिडियो सन्देश हालिरहेका थिए । भिडियो सन्देशमा प्रसाईले आफू कतै नभागेको र नेपालमै रहेको दाबीसमेत गर्दै आएका थिए । यद्यपि प्रहरीले उनलाई भारतको आसामबाट पक्राउ गरेको हो ।

यसअघि नेपालबाट विशेष ब्युरोको टोली प्रसाईको खोजीमा उत्तराखन्ड पुगेको थियो । लोकेसन ट्र्याकमा आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोली पुग्नु अगावै प्रसाईले त्यसको जानकारी पाएपछि प्रसाई त्यहाँबाट पनि भागेका थिए ।

त्यसपछि अपराध महाशाखाका एक डिएसपीसमेत प्रसाईलाई पक्राउ गर्न भारत पुगेका थिए । जसरी पनि पक्राउ पर्ने अवस्था आएपछि प्रसाईले आफ्नो ज्यानको सुरक्षा हुने भए आफू नेपाल फर्कने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?