काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूको राजीनामा तत्काल स्वीकृत नगर्न सर्कुलर जारी गरेको छ ।
पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस र स्वीकृत नगर्न सर्कुलर जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालयलाई पत्राचार गर्दै अत्यावश्यक अवस्थामा बाहेक प्रहरी कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न आग्रह गरेको छ ।
प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यद्वारा हस्ताक्षरित बिहीबारको पत्रमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न हुन अनुरोध छ ।’
पछिल्ला दिनमा काठमाडौं उपत्यकामा दिनहुँ आन्दोलन र प्रदर्शन भइरहेका छन् । गत चैत १५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘कमान्ड’ गरेको राजावादी आन्दोलनले वितण्डा मच्चाएको थियो । सो आन्दोलनमा करोडौँको भौतिक क्षति हुनुका साथै दुई जनाको ज्यान गएको हो ।
यसैगरी, काठमाडौंमा झन्डै दुई सातादेखि शिक्षक र सहकारी पीडितहरूको आन्दोलन जारी छ । यसैलाई आधार बनाएर प्रहरी प्रधान कार्यालयले राजीनामा स्वीकृत नगर्ने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया