सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी बमबहादुर बुढाकी तीन महिने छोरी श्रीयालाई प्रहरीले चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ को लामिडाँडा जंगलबाट फेला पारेको छ । उनलाई अपहरण गर्ने अन्दाजी २० वर्षीया युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी महिला सोही गाउँपालिकामा पर्ने सिरवलकी शर्मिला विष्ट हुन् ।
शिशु बोकेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको. जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गएराति ९ बजेतिर घरका सबै सुतेपछि घर पछाडि राखिएको खरमा आगो लगाएर षड्यन्त्रपूर्ण रूपमा बालिकाको अपहरण गरिएको अभिभावकको दाबी छ ।
खरमा आगो लागेपछि बमबहादुरका श्रीमान्–श्रीमती छोराछोरीलाई सुतिरहेकै ठाउँमा छाडेर आगो निभाउन गएको र उनीहरू फर्किँदा अपहरणकारीले बालिकालाई लिएर गएको बताइएको छ ।
बमबहादुरका दाजु दीपक बुढाले बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने आशंका गरेका छन् ।
बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । परिवारका सदस्यहरू आगो निभाएर फर्कँदा ठूलो चाहिँ बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया