काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बिआराआई परियोजना प्रक्रिया घुमाउरो ढंगले रोक्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।
उनले राष्ट्रिय निकुञ्जभित्र पर्ने राष्ट्रिय आयोजनाअन्तर्गतका सडक सञ्जालका पूर्वाधार निर्माणमा अदालतले गरेको रोक्काप्रति सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
नेपालको उत्तरी क्षेत्रमा जोड्ने सडक सञ्जालमा बिआरआई जोडिएको भन्दै उनले पुनरावलोकनमा जानै नमिल्ने गरी पूर्वाधार निर्माणमा रोक्का गर्ने संवैधानिक इजलासको फैसलाबारे नेपाल र चीनको दुई पक्षीय सम्बन्धका बारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।
दुई देशबिच भएका विकास निर्माणका कतिपय सम्झौताहरू हाम्रै कारण कार्यान्वयन नभएको उनको भनाइ छ । उनले दुई देशबिचको सहायतालाई उच्च प्राथमिकता दिएर तीव्रताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताए ।
महासचिव गुरुङले विश्व राजनीतिक परिस्थिति तथा क्षेत्रीय भूराजनीतिक अवस्थाका कारण पनि नेपाल र चीन बिचको सम्बन्धलाई थप परिभाषित र विकसित गर्दै लैजानुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया