कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
273
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको दाबी गरे ।

उनले नेपाली कांग्रेसबाहेक नेपालमा अरू राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे । कांग्रेसको अर्थनीतिमै अरू राजनीतिक दलहरू हिँडिरहेको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको बताउँदै अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको दाबी गरे ।  

मन्त्री पौडेलले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो । आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन । कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालीरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरू प्रस्तुत गर्न सक्छौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ । भारतको संसद् नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’

उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको भन्दै २७५ को संसद्को संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए  । प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रस्ताव गरे ।  पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए ।  

संघीय मन्त्रीमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने र प्रदेशको मन्त्रीमण्डल तीन सदस्यीय बनाउनुपर्ने बताए । राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने उनको भनाइ छ । मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?