काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरूले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरूले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले १७ हजार मानिसहरू युद्धको नियमानुसार मारिएको बताए । उनले त्यस बेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालीन माओवादी) ले कति हत्या गर्यो भन्ने कुरा अध्ययन गर्न सकिने बताए । उनले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाए ।
उनले १७ हजार मानिस प्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताए । उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए ।
अध्यक्ष दाहालले सबै नेताहरू उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि छ । यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरूलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताए । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्ने कुरा भन्न डराउन नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया