भियतनामबाट चार्टर उडानमार्फत १ सय ८० बुद्धिष्ट पर्यटक लुम्बिनी आउँदै

लोकपथ
889
Shares

काठमाडौं । भियतनामबाट एकै दिन १ सय ८० बुद्धिस्ट पर्यटक चार्टर विमानमार्फत लुम्बिनी आउने भएका छन् । लुम्बिनीमा पूजा गर्नका लागि उनीहरू चार्टर विमानमार्फत आउन लागेका हुन् ।

काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेजले भियतनामबाट बौद्ध धर्मावलम्बी पर्यटक ल्याउन समन्वय गरेको हो । आगामी अप्रिल १८ (वैशाख ५), मे १६ (जेठ २) र मे २६ (जेठ १२) मा भियतनामबाट सिधा उडानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा ल्यान्ड गराई लुम्बिनीको भ्रमण गराउन लागिएको रुप्से होलिडेजले जनाएको छ ।

भियतनामबाट बुद्धिस्ट पर्यटक ल्याउन रुप्सेले अप्रिल र मे मा गरी तीन वटा चार्टर उडानसमेत गर्न लागेको छ । आगामी अप्रिल १८ मा १ सय ८० जना बुद्धिस्ट पर्यटक आउने तय भइसकेको र उनीहरू दुई दिन लुम्बिनीमा रहने रुप्सेले जनाएको छ ।
त्यसै गरी दोस्रो चार्टर उडान मे महिनाको १६ तारिख (जेठ २) र तेस्रो चार्टर उडान मे महिनाको २६ मा (जेठ १२) हुने तय भइसकेको रुप्सेले जनाएको छ ।

आगामी अप्रिल १८ मा हुने उडानमा १ सय ८० जना बुद्धिस्ट पर्यटकलाई भियतनामको हानोईबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइनेछ । त्यहाँ एक दिनको पूजा तथा अर्को एक दिनको भ्रमण गराइने तयारी गरिएको छ ।

बौद्ध धर्मावलम्बीको देश भियतनामबाट पहिलो पटक धार्मिक पर्यटनका लागि सोझै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा चार्टर उडान हुन लागेको हो । त्यसै गरी मे महिनाको १६ र २६ तारिखमा भियतनामको हानोईबाट काठमाडौंमा सिधा चार्टर उडान हुनेछ । १६ मा आउने पर्यटक १० दिनसम्म काठमाडौं लगायतका क्षेत्रमा बसोबास र घुमघाम गर्ने रुप्सेले जनाएको छ ।

भियतनामी पर्यटक बोकेर नेपाल आउने उडानमार्फत कोही नेपाली वा अन्य नागरिकले सस्तो मूल्यमा भियतनामको टुर प्याकेज र टिकट प्राप्त गर्न सक्ने रुप्सेले जनाएको छ । यी चार्टर उडानले दुई देशीय पर्यटन प्रवाहलाई सन्तुलित र परस्पर लाभदायक बनाउने समेत रुप्सेले दाबी गरेको छ ।

नेपाल र भियतनामबिचको पर्यटन आदानप्रदानमा रुप्से होलिडेज अग्रपङ्क्तिमा रहेको ट्राभल एजेन्सी हो । यसअघि पनि रुप्से होलिडेजले कैयन पटक चार्टर उडानमार्फत भियतनाम र नेपालबिच पर्यटक आदानप्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?