व्यवसायी गणेश लाठको ‘सीमान्त सम्झना’ विमोचित

लोकपथ
126
Shares

काठमाडौं । लेखक एवम् व्यवसायी गणेशप्रसाद लाठले ‘सीमान्त सम्झना’ नामक संस्मरण सार्वजनिक गरेका छन् । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो ।

वीरगन्जमा जन्मी त्यहीँ नै आफ्नो कर्म थलो बनाएका व्यवसायी लाठले आफूले त्यस क्षेत्रमा देखेको, भोगेको विषय पछिल्लो पुस्तालाई जानकारी गराउने उद्देश्यले संस्मरण प्रकाशन गरेको बताएका छन् । ‘सीमान्त सम्झना’ एउटा उत्सुक बालक, किशोरले देखेको आफ्नो घर समाजको रूपान्तरणको संस्मरण भएको लाठले बताए ।

लाठ समाजका विसङ्गतिलाई साहित्यमार्फत पोख्ने लेखक पनि हुन् । उनले साहित्य र आर्थिक विषयमा पनि लेख्ने गरेका छन् । सीमान्त सम्झना लाठको पाँचौँ कृति हो । लाठले यसअघि तराइका पृष्ठभूमिमा लेखिएका व्यङ्ग्यात्मक कथा ‘छमियाँ’, प्रकाशन गरेका थिए । त्यसै गरी लाठले ‘अघटित’, ‘क्षमादान’ लगायतका पुस्तक प्रकाशन गरेका थिए ।

संस्मरणमा आधारित सीमान्त सम्झना लेख्न करिब ३ वर्ष लागेका र यसका लागि वीरगन्जका पुराना जानकार व्यक्तिहरूसँग कुराकानी समेत गरेर पुस्तक लेखेको बताए ।

पुस्तक विमोचन कार्यक्रममा लेखक यादव देवकोटाले पुस्तकबारे टिप्पणी र समीक्षा गरेका थिए । लाठ एक व्यापारी भएर पनि अनुसन्धानात्मक रूपमा पुस्तक प्रकाशन गर्नु निकै सकारात्मक रहेको देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?