अशान्त वीरगञ्ज : कर्फ्यू आज पनि कायमै, सर्वदलीय बैठक बोलाइयो

लोकपथ
2k
Shares
शनिबार दिउँसो झडप हुँदाको दृष्य

काठमाडौं । शनिबार वीरगञ्जमा दुई समुदायबीच भएको धार्मिक द्वन्दपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

दुई समुदायबीच झडप र त्यसपछि असामान्य बनेको परिस्थिति नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हिजो साँझ ७ः३० बजेदेखि आज मध्यान्न १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाका चार किल्ला तोकी भेडियाही चौक, सिर्सिया पुल, गण्डक चौक र शंकराचार्य गेटतर्फ कर्फ्यू आदेश जारी गरिएको हो । जहाँ भेला, जुलुस प्रदर्शन, बैठक, सभा, घेराउ लगायतका कुनै पनि कार्य गर्न बन्देज लगाइएको छ ।

कर्फ्यू आदेश जारी गर्दा समेत अवस्था असामान्य बनेपछि राति सेना समेत परिचालन गरिएको थियो । सो समयमा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते समेत भएका छन् ।

झडपमा परेर हालसम्म प्रहरीसहित ४३ जना घाइते भएका छन् । झडपको स्थिति नियन्त्रणमा लिन ८ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।शनिबार हनुमान जयन्तीको अवसरमा शोभा यात्राका क्रममा मुस्लिम समुदायले घरको छतबाट ढुंगा हानेपछि अवस्था झडपमा परिणत भएको आरोप रहेको छ ।

दुई समुदायबीचको झगडाले स्थिति नियन्त्रण बाहिर गएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले सर्वदलीय बैठक बोलाएका छन् । केहीबेरमा सर्वदलीय बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?