काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) आफ्ना अभिव्यक्तिहरु आफ्नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने गर्छन् ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेनले अहिलेसम्म कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका छैनन् ।
काठमाडौं महानगरमा दलहरुलाई धक्का दिँदै मेयर बनेपछि एकाएक चर्चामा चुलिएका बालेनको ‘क्रेज’ सबै उमेर समूहमा उस्तै छ । थोरै मात्र सार्वजनिक कार्यक्रममा जाने बालेन हरेक विषयको जानकारी र सरकारसँगको आफ्ना असन्तुष्टीहरु सामाजिक सञ्जालबाटै दिइरहेका हुन्छन् ।
उनी प्राय साँझ र रातिको समयमा मात्र आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमा लेख्ने गरेको आरोप समेत लाग्ने गरेको छ । साथै साँझ र रातिको समयमा मात्र किन मेयर बालेनको स्ट्याटस आउँछ भन्दै आम चासो र आलोचना समेत हुने गरेको छ ।
शनिबार राति १० बजे आसपास पनि मेयर बालेनको फेसबुकमा एउटा स्ट्याटस आयो । ‘मेरो माया लाग्छ ?’ भन्दै आफ्नो आधिकारिक फेसबुकमा लेखे । ‘पब्लिक आइकन’ भएका कारण उनकै स्टाइलमा धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सोही प्रकृतिको प्रेमिल स्ट्याटस लेखे ।
तर आइतबार बिहान भने एकाएक मेयर बालेनको फेसबुकबाट उक्त स्ट्याटस हरायो । उनी स्वंयले आफ्नो स्ट्याटस हटाएको आशंका गरिएको छ ।

त्यसो त अहिले मात्र होइन, यसअघि पनि कतिपय स्ट्याटसहरु साँझ र रातिको समयमा लेखिन्थ्यो र बिहान हटाइन्थ्यो ।
पछिल्लो समय सरकारप्रति आक्रोश बढिरहेका बेला बालेनले लेख्ने हरेक स्ट्याटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समर्थन जनाएको पाइन्छ ।
त्यसो त केही दिनअघि बालेनले महानगरका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत नहुँदा लामो समयदेखि तलब खान नपाएको र एक साताभित्र पनि समस्या समाधान नभए सबैलाई टुकुचामा गाड्दिने भन्दै आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।
तर उनले सो पोस्ट भने हटाएका छैनन् । वडाध्यक्ष र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा भित्र्याएर आर्थिक गतिविधिहरु समाधान हुन थालेको छ । त्यसपछि न बालेनले त्यसबारे आत्मालोचना गरेका छन्, न थप आक्रोशित बनेका छन् ।
विशेषत सरकारसँग चरम असन्तुष्टी बढिरहेका बेला बालेनले सरकारविरुद्ध सामाजिक सञ्जालमा दिने अभिव्यक्तिको चर्चाको विषय बन्छ । तर कतिपयले भने रातको समयमा मात्रै स्ट्याटस आउनुलाई विभिन्न आरोप लगाएर आलोचना समेत गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया