काठमाडौं । विद्यालय तीन प्रकारका हुन्छन्, सार्वजनिक, निजी र गुठीमा सञ्चालित । निजी विद्यालय सञ्चालनका लागि राज्यले मापदण्ड बनाएर लागू गरेको छ भने सार्वजनिक विद्यालय सरकारी विद्यालय हो ।
अनि सेवाभावले नाफा नखाने संस्थाका रुपमा सञ्चालनमा आउने विद्यालय पनि छन्, जो गुठीमा आधारित रही सञ्चालनमा रहन्छन् । गुठीमा सञ्चालन हुने विद्यालयलाई सरकारले पहिले अनुदान दिएको, कर छुट गरेको आदि प्रमाणहरु पनि छन् ।
गुठीमै आधारित केही निजी प्रकृतिका विद्यालयमा सिद्धार्थ बनस्थली स्कुल, एलआरआई स्कुल, एभिएम स्कुल आदी नाम चलेका विद्यालय हुन् ।
सामूहिक सौदाबाजी र नाफारहित उदेश्यबाट गुठीमा सञ्चालित अर्को विद्यालय हो, नेशनल इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी अर्थात् ‘निस्ट’ । शिक्षाको लागि विश्वासिलो शैक्षिक संस्थाको रुपमा हामीले सुन्दै र बुझ्दै आएको निस्ट कलेज अनि यसका सञ्चालकहरु यतिबेला भने व्यापारका केन्द्रित देखिएका छन् । व्यापार पनि कसरी भने गुठियारको सहमति वा माइन्युट नै तयार नपारी गुठीको विद्यालय र सम्पत्ति नै प्रालि अर्थात् पूर्णतय निजी मात्रै बनाइएको छैन, अब यसको सम्पत्ति नै बेचेर सञ्चालकहरुले मोटो रकम लिने तयारी गरेका छन् ।
हो, निस्ट नामक संस्था यतिबेला अस्तित्वमा छैन । शुरुमा सेवाभावबाट उप्रेरित भएर खोलिएको गैरनाफामूलक संस्थाको रुपमा २०४९ मा नेशनल इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (निस्ट) को नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको थियो । संस्था सञ्चालनको इमान्दार प्रयासबाट २०५५ सालमा संस्थाको नाममा विभिन्न स्थानमा जग्गाजमिन खरिद गर्न संस्था सफल हुन्छ । २०६० सालमा गैरनाफामूलक यो संस्थाले उच्च माध्यामिक विद्यालय पढाउन नपाउने भएपछि निजी गुठी खडा गरी नेशनल स्कूल अफ साईन्सेस (निस्ट) दर्ता गरिन्छ र सो जग्गापनि ‘निस्ट’ नामक गैरनाफामूलक संस्थाबाट एनएसएसमा सारिन्छ । समान उद्देश्य भएका संस्थाको नाम भन्दै गैरनाफामूलक संस्थाको जग्गा निजी गुठीका नाममा जान्छ ।
जब जग्गाको मूल्य करोडौँ जाने भयो…
निस्ट नामक गैरनाफामूलक संस्थाबाट निजी गुठीको नाममा रहेको ५ रोपनी ११ आना जग्गा अब व्यक्तिगत बनाउन विभिन्न तिकडम शुरु गरिन्छ । फलतः २०६५ सालमा नेशनल स्कूल अफ साईन्सेस नामक प्रालि दर्ता गरिन्छ ।
अनि त्यो संस्थाको एकल सञ्चालकमा माधव प्रसाद बरालको नाम रहन्छ । सुरुमा निस्ट नामक संस्थाका सदस्यमध्ये बराल एक व्यक्ति थिए, जसले पछि निस्टकै नाममा प्रालि दर्ता गराए । अनि उनै बरालले संस्थाबाट निजी गुठी र निजी गुठीबाट प्रालिका नाममा जग्गा ल्याउन विभिन्न प्रयासहरु गर्न थाल्छन् ।
हालसाबिकका नाममा प्रालिका नाममा जग्गा दर्ता
२०७४ पुष १९ मा हालसाबिक गरि निस्टकै नाममा नयाँ लालपूर्जा जारी गराइन्छ । लालपूर्जा जारी गर्दा मालपोतसँगको मिलेमतोमा पुरानो एनएसएसको दर्ता नम्बर नै कायम गरी एनएसएसका नाममा रहेको ५ रोपनी ९ आना जग्गा अब प्रालिका नाममा दर्ता कायम गरिन्छ । स्मरणीय कुरा यही छ, निजी गुठीको दर्ता नम्बर राखेर सो जग्गा नेशनल स्कूल अफ साइन्सेस प्रालिको नाममा कायम भएको भ्रममा पारिएको छ ।

पुर्जामा नेशनल स्कूल आफ साइन्सेस नै उल्लेख छ तर प्रालिको नाममा हो या निजी गुठीका रुपमा हो, कहीँ कतै खुल्दैन । पुर्जा र दर्ता नम्बरको आधारमा उक्त जग्गा प्रालिको जग्गा देखिन्छ भने दर्ता मितिको आधारमा एनएसएस निजी गुठीकै रुपमा रहेको देखिन्छ ।
अब गुठीकै जग्गा बिक्रीको तयारी
निस्टका नाममा जोडिएका जग्गा बिस्तारै निजी गुठी हुँदै यतिबेला भने पूर्णतय निजी वा प्रालिका नामबाट बिक्री गर्ने तयारी गरिएको छ । करोडौँ मूल्य पर्ने जग्गा आफ्नो व्यक्तिगत नाममा बनाएर पछिल्लो समय निस्टको नाममा गोंगवुमा रहेको जग्गा बिक्रीको लागि बैनाबट्टासमेत भइसकेको पाइएको छ । मालपोतको हेलचक्र्याईँ र सञ्चालक माधव बरालको बठ्याईँले सरकारको मातहत आउनुपर्ने गैरनाफामूलक सम्पत्ति यतिबेला व्यक्तिकै सम्पत्तिसरह बिक्री गर्न लागिएको पाइएको छ । पुर्जामा नै कैफियत देखिएको निस्टको नाममा रहेको जग्गा यतिबेला प्रतिआना ४० लाखका दरले बिक्री गर्न बैना भएको हो ।

२०८० भदौ १ गते टोखा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षको रोहबरमा निस्टको जग्गा विक्रीका लागि बैना भएको देखिन्छ ।
निस्टको इतिहास
निस्ट नामक गैर नाफामूलक सामाजिक संस्था २०४९ साल चैत १४ गते दर्ता नम्बर ४१२, ०४९।५० मा दर्ता भएको थियो । संस्था दर्ता ऐन, २०३४ अन्तर्गत नेशनल इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (निस्ट) गैरनाफामुलक संस्थाका रुपमा खोलियो ।
संस्थाले आयआर्जन समेत गरेपछि २०५५ जेठ ४ गते धन बहादुर घलेबाट त्यही गैरनाफामूलक संस्था निष्टले गोंगबु क्षेत्रमा ५ रोपनी ११ आना जग्गा खरिद गर्यो ।
२०६० असार ३१ मा निस्टबाट नेशनल स्कूल अफ साइन्सेजको नाममा उच्च माध्यामिक विद्यालय खोलियो र तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्बाट सम्बन्धन समेत लिइयो । तत्कालीन समयमा गैर नाफामूलक संस्थाले पैसा लिएर पढाउन नपाउने भएपछि सञ्चालकले एनएसएस नामको शैक्षिक संस्था निजी गुठीको रुपमा खोले अब निस्ट गैरनाफामूलक संस्थाबाट विस्तारै निजी गुठितिर लगियो ।
अनि त्यही निजी गुठीलाई २०६५ साल पुष ११ गते प्रालिका रुपमा रुपान्तरण गरियो । २०६५ पुष ११ गते दर्ता नम्बर ५८८७०।०६५।६६ मा प्रालिमा लगेर गुठीको नाममा भएको जग्गा प्रालिमा लगिएको पाइएको छ । अनि मालपोतसँग मिलेमतो गरी २०७४ साल पुष १९ गते जग्गाको हालसाबिक गरी नयाँ लालपूर्जा जारी गरी पूर्णतः निजी स्वामित्वको रुपमा उल्लेख गरिएको छ ।
लालपूर्जा जारी गर्दा मालपोतसँगको मिलेमतोमा पुरानो एनएसएसकै दर्ता नम्बर कायम गरी ५ रोपनी ९ आना जग्गा हालसाबिक गरियो । स्मरणयोग्य कुरा के छ भने निजी गुठीको दर्ता नम्बर नै राखेर सो जग्गा नेशनल स्कूल अफ साइन्सेस प्रालिको नाममा कायम भएको भ्रममा राखियो । पूर्जामा नेशनल स्कूल अफ साइन्सेज नै उल्लेख छ तर प्रालिको नाममा हो या निजी शैक्षिक गुठी वा गैर नाफामूलक संस्थाको नाममा हो भन्ने कुरा कहीँ कतै उल्लेख भएको छैन । यद्यपि अहिले भने उक्त जग्गा प्रालिका नाममा छ भने दर्ता मितिलाई आधार मान्ने हो भने एनएसएसको नाममा निजी गुठीकै नाममा कायम देखिन्छ ।
बेखबर गुठीको स्कूल व्यवस्थापन
यही संस्थाले गोंगवुमा रहेको जग्गामा नेशनल मोडल साइन्स स्कूल सञ्चालन गरेको थियो । तर जग्गा बिक्रीको बैना गर्दा उक्त जग्गा खाली गराउने जिम्मा एनएसएसका सञ्चालक माधव प्रसाद बरालले लिएको जग्गा बिक्रीका लागि तयार पारिएको करारनामामा उल्लेख छ । यद्यपि गुठीको जग्गा निजी भइसकेको र बिक्रीका लागि बैनासमेत भइसकेको विषयमा भने अन्य गुठियारहरु बेखबर छन् ।
जग्गा बिक्री रोक्का
गुठीको जग्गा बिक्री गर्नका लागि बैना समेत भइसकेपछि सरोकारवालाले उक्त जग्गा बिक्री रोक्न विभिन्न निकायमा उजुरी गरेका छन् । मालपोत कार्यालयमा समेत निवेदन दिएको समूहले कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत निवेदन दिएर उक्त जग्गा रोक्का गर्न माग गरेका थिए ।

जग्गा बिक्रीका लागि भएको बैना रोक्का गर्न मागे गरेपछि कम्पनी रजिस्ट्रारको कार्यालयले २०८१ चैत २५ गते नेशनल स्कूल अफ साइन्सेजलाई जग्गामा रोक्कामा राखिएको पत्र समेत पठाएको छ ।
गुठी सञ्चालन गर्न असमर्थ भए सम्पत्ति राज्यको हुने विधान
निस्टले तयार पारेको आफ्नो विधानमा गुठी सञ्चालन गर्न असमर्थ भए वा सबै सञ्चालकहरुको मृत्यु भएमा संस्थाको सम्पत्ति राज्यको हुने उल्लेख छ । निस्ट गुठी सञ्चालन गर्न बनेको ‘राष्ट्रिय नमुना विद्यालय शैक्षिक गुठीको विधान, २०५९’ को परिच्छेद ७ को बुँदा नम्बर २६ को ४ मा ‘गुठीको सबै संस्थापक सदस्यहरुको मृत्यु भएमा वा अन्य कारणबाट गुठी सञ्चालन गर्न संस्थापकहरु असमर्थ भएमा संस्थापकहरुको सर्वसम्मत अर्को निर्णय गरिसकेको भएमा बाहेक गुठीको सम्पति, हक दायित्व श्री ५ को सरकारमा सर्नेछ’ भन्ने उल्लेख छ ।
तर निस्ट कलेज र यसका सञ्चालक माधवप्रसाद बरालले भने विभिन्न जालझेल गरेर गैरनाफामूलक संस्थालाई पहिले निजी गुठीमा रुपान्तरण गरी, बिस्तारै प्रालिमा दर्ता गराई अहिले करोडौं मूल्य पर्ने उक्त जग्गा नै बिक्री गर्न लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया