काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संसार धेरै अघि बढिसक्दा पनि नेपाल भने राजनीतिक वाद र शिद्धान्तको चक्रव्यूहमा फसेको टिप्पणी गरेका छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । ‘संसार धेरै अघि बढिसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौँ,’ उनले भने ।
त्यस्तै उनले आगामी वर्ष २०८२ नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्ने विश्वास समेत व्यक्त गरेका छन् ।
गत फागुनको पहिलो साता ज्ञानेन्द्रले दिएको अभिव्यक्तिपछि राजावादी शक्तिहरु राजतन्त्र पुनस्थापनाको मागसहित सडक आन्दोलन गरिरहेका छन् ।
सोही समयमा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्रले भनेका छन्, ‘हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुन सक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नपर्छ र बनाउन सकिन्छ विश्वास हामीले लिएका छौँ ।’
त्यस्तै गत चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनाबाट आफू दुखी रहेको समेत बताएका छन् । साथै देशमा मौलाएको चरम भ्रष्टाचार र बेथितिले हरेक वर्षको सुरुवात उत्साहजनक हुने र अन्तिममा निराश हुने अवस्था आउने गरेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया