बलात्कारको कसुरमा निलम्बित न्यायाधीश गिरीले पाए सफाइ

लोकपथ
22.8k
Shares

काठमाडौं । आफ्नै श्रीमतीमाथि बलात्कारको कसुरमा जेलमा रहेका न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन् । आइतबार उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै गिरीलाई सफाइ दिएको हो ।

सम्बन्ध विच्छेदको मुद्दा दायर भइसकेकी श्रीमतीमाथि बलात्कार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई दोषी ठहर गरेको थियो ।

सुरुमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका गिरीलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि पुर्पक्षका लागि थुनामा गएका गिरीलाई पछि काठमाडौं जिल्ला अदालतले पनि दोषी ठहर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका न्यायाधीश गिरीको मुद्दामा आइतबार उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश लाल बहादुर कुँवर र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टी गर्दै सफाइ पाउने फैसला सुनाएको हो ।

तस्वीर : उच्च अदालत पाटन

उच्च अदालतले सफाइ दिने फैसला सुनाए लगत्तै न्यायाधीश गिरी थुनामुक्त हुने भएका छन् ।

न्यायाधीश गिरीमाथि आफ्नै कान्छी श्रीमतीले जबरजस्ती करणीको मुद्दा दायर गराएकी थिइन् । बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा चलिरहँदा काठमाडौंको डेरामा छलफलका लागि भनी बोलाइएका न्यायाधीशमाथि जबरजस्ती करणीको आरोप लगाउँदै कोठाबाटै पक्राउ गराएकी थिइन् ।

त्यसअघि पनि उनी कान्छी पत्नीले न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको कसुरमा मुद्दा दर्ता गराएकी थिइन् । कपिलवस्तुमा दर्ता भएको मुद्दामा भने न्यायाधीश गिरीले सफाइ पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?