काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीले हेटौँडा प्रादेशिक अस्पतालमा भएको तोडफोड घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको उक्त प्रादेशिक अस्पतालमा भएको तोडफोड घटनाप्रति संघले गम्भीर आपत्ति जनाएको हो ।
संघका बागमती प्रदेश अध्यक्ष राजु तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा राजावादी र नेपाली कांग्रेसका कार्यकर्ताहरू मिलेर योजनाबद्ध रूपमा अस्पतालमा तोडफोड गरेको उल्लेख गर्दै दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरिएको छ।
विज्ञप्तिमा अस्पताल जस्तो जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील संस्थामा गरिएको तोडफोडप्रति ‘घोर निन्दा र भर्त्सना’ गरिएको छ। संघले यस्तो गतिविधिले आम नागरिकमा भय र अविश्वास फैलाउने काम गरेको भन्दै त्यसका पछाडि रहेका व्यक्तिहरूलाई राजनीतिक संरक्षण नदिन सरकारलाई आग्रह गरेको छ।
संघले चेतावनी दिँदै भनेको छ, ‘यदि दोषीमाथि छानबिन र कारबाही नभए संघ आफैं जनस्तरबाट आन्दोलनमा जान बाध्य हुनेछ।’
मदन भण्डारीको नाम जोडिएको यस संस्थालाई कमजोर पार्ने षड्यन्त्र भएको भन्दै संघले यसलाई राजनीतिक स्वार्थ पूर्तिको साधन नबनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया