काठमाडौं । शनिबार साँझ साढे ७ बजेबाट वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइएको छ ।
शनिबार दिउँसो हिन्दू धर्मावलम्बीहरुले हनुमान जयन्तीका अवसरमा निकालेको शोभा र्यालीमा ढुंगामुढा भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।
हिन्दू र मुस्लिम समुदायका केही मानिसहरुबीच झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिन साँझबाट कर्फ्यू आदेश जारी गरिएको थियो । गएराति १२ बजेसम्मका लागि लगाइएको कर्फ्यू आदेश हटाइए पनि अवस्था शान्त नभइसकेको भन्दै भीडभाड गर्न भने रोक लगाइएको छ ।
आइतबार बसेको सर्वदलीय बैठकले कर्फ्यू आदेश हटाउने निर्णय गरिएको तर कुनै किसिमको भेला, सभा, नाराजुलुस तथा प्रदर्शन गर्न नपाउने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
‘…मिति २०८१–१२–३१ गतेको सर्वदलीय बैठकमा भएको निर्णय समेतका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले मिति २०८१–१२–३१ गते राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने र परिस्थिति पूर्ण सामान्य भई नसकेको वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका देहायका क्षेत्रहरुमा मिति २०८२–०१–०१ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ । उक्त आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ,’ जारी आदेशमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार वीरगञ्ज महानगरपालिकाको पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटमा निषेधाज्ञा जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया