काठमाडौं । प्रेममा सबै कुरा जायज हुन्छ भनिन्छ । तर प्रेममा रहँदा जायज हुन्छ भनिएका कुरा प्रेम सम्बन्ध सकिएपछि वा ब्रेकअप पछि जायज हुन्छ कि हुँदैन त ? सायद यही प्रश्नको जवाफ खोजिरहेकी छिन्, सिन्धुपाल्चोककी २३ वर्षीय कान्ति भण्डारी (नाम परिवर्तन) । किनकि आफ्नै पूर्व प्रेमीलाई पठाएको अश्लील फोटो र भिडियोले यति बेला पोलिरहेको छ । कुनै समय सबै जायज हुन्छ भनिएका कुराहरू नै यति बेला नाजायज भएको छ र त्यही जायज भनिएका विषयले कान्तिलाई दुख र हैरानी दिइरहेको छ ।

हैरानी पनि यत्तिसम्मको कि कहिले पैसा मागेर हैरानी पारिन्छ त कहिले शारीरिक सम्बन्ध राख्न दबाब दिइन्छ । नत्र ‘भाइरल’ गराइदिने धम्की आउँछ । सामाजिक बेइज्जतीको डरले कान्ति बारम्बार पैसा पठाउन बाध्य हुन्छिन् भने शारीरिक सम्पर्क राख्नसमेत बाध्य हुनुपर्ने स्थिति आउँछ ।
अति भएपछि प्रहरीको शरणमा पुगेकी कान्तिलाई अहिले अन्तरिम राहत त मिलेको छ, तर त्यो भाइरल हुने वा गराइदिने डर भने अझै बाँकी नै छ । भोटाहिटीस्थित साइबर ब्युरोले कान्तिलाई हैरानी दिने र ब्ल्याकमेल गर्ने २४ वर्षीय आयुष अधिकारीलाई केही दिन अगाडि पक्राउ त गरेको छ, तर आफ्नै अश्लील तस्बिर र भिडियो कुन दिन डार्क रुममा आउने हो चिन्ता भने अझै बाँकी छ ।
पहिले कान्तिले के गरिन् र यति धेरै दुख र हैरानी खेपिन्, त्यो बुझौँ ।
सिन्धुपाल्चोककी कान्ति भण्डारी काठमाडौंमै बसेर बिबिएस अध्ययन गर्दै थिइन् । सामाजिक सञ्जाल चलाउने क्रममा कृतन थापा नाम गरेका एक व्यक्तिसँग सन् २०२२ को नोभेम्बरतिर चिनजान भयो, जो क्यानडामा बस्थे ।
कहिले पैसा मागेर हैरानी पारिन्छ त कहिले शारीरिक सम्बन्ध राख्न दबाब दिइन्छ, नत्र ‘भाइरल’ गराइदिने धम्की आउँछ ……
सामाजिक सञ्जालबाट भएको चिनजान बिस्तारै माया प्रेममा बदलिन थाल्यो । दैनिक हुने कुराकानीले कान्ति र कृतन प्रेममा डुबिसकेका थिए भने विवाह गर्ने कुरासमेत हुन्थ्यो । सबै कुरा मिल्ने भएपछि उनीहरू विवाह गर्नेसम्मको अवस्थामै पुगिसकेका थिए ।
प्रेममा सबै कुरा ‘जायज’ हुने भएपछि क्यानडामा रहेका कृतन थापाले कान्तिलाई आफ्ना गोप्य अङ्गहरूको फोटो तथा भिडियो पठाउन भन्न थाले । कान्तिले कहिले आफैँले फोटो र भिडियो खिचेर पठाउन थालिन् त कहिले नग्न भएर भिडियो च्याटमा बस्न थालिन् ।
करिब डेढ वर्षको प्रेममा सन् २०२४ को सेप्टेम्बर अक्टोबर महिनाबाट दरार आउन थाल्यो । कृतन अब बिस्तारै कान्तिसँग टाढिन खोज्न थाले । विभिन्न कारणले हुनीहरूबिच विवाद हुन थाल्यो र करिब ८ महिना अगाडिबाट उनीहरूले ब्रेकअप गरे ।
कान्ति र कृतनबिच ब्रेकअप भएपछि उनीहरूले एक अर्कालाई ब्लक गरे, कुराकानी पनि बन्द हुन थाल्यो । त्यसपछि कान्ति आफ्नै पढाइमा केन्द्रित भइन् भने कृतन के गर्दैछन् भन्ने कान्तिलाई चासो भएन ।
…………..
तर कथा र सम्बन्ध यतिमै सकिँदैन । सन् २०२२ देखिको प्रेम सम्बन्ध र त्यसका बाइप्रोडक्टहरु सन् २०२५ को मार्च महिनाबाट देखिन थाल्यो । कान्तिलाई एकाएक आफ्नै नग्न फोटो र भिडियोहरू ह्वाट्सएप, फेसबुकको म्यासेन्जर आदिमा आउन थाल्यो ।
आपत्तिजनक शब्द प्रयोग गर्दै तेरो यो राम्रो, यो नराम्रो जस्ता शब्दहरूको प्रयोग हुँदै म्यासेजहरू आउन थाले । तर ती पठाउने व्यक्ति पूर्व प्रेमी थिएनन्, अरू नै कोही थिए ।
जब आफ्ना पूर्व प्रेमीलाई पठाएका भिडियो र फोटो अर्कै व्यक्तिको नामबाट कान्तिको मोबाइलमा आउन थाल्यो, तब कान्तिले कृतनलाई सम्पर्क गर्ने कोसिस गरिन् । तर कृतन कान्तिको सम्पर्कमा थिएनन् ।
यता कान्तिलाई आफ्नै नग्न फोटो र भिडियो पठाउने व्यक्तिले कान्तिसँग बार्गेनिङ गर्न थाल्यो । कहिले पैसा माग्ने त कहिले आफूसँग पनि यौन सम्बन्ध राख्न दबाब दिन थाल्यो । पैसा नपठाए वा यौन सम्बन्ध राख्न नदिने ती सबै फोटो र भिडियो भाइरल बनाइदिने धम्की दिन थाल्यो ।

बिबिएस तेस्रो वर्षमा अध्ययनरत कान्तिले सामाजिक बेइज्जतीको डरले सुरु सुरुमा केही पैसा पठाइदिइन् …….
बिबिएस तेस्रो वर्षमा अध्ययनरत कान्तिले सामाजिक बेइज्जतीको डरले सुरु सुरुमा केही पैसा पठाइदिइन् । कान्तिले ती फोटो र भिडियो तथा स्क्रिन रेकर्डेड भिडियोहरू कहाँबाट पायो भन्दा ती युवकले त्यसबारे केही बताएनन्, मात्रै उसले भनेको जस्तो भएन भने भाइरल गराइदिने धम्की मात्रै दिन थाल्यो ।
सुरु सुरुमा आफूलाई धम्की दिने युवकलाई केही रकम समेत पठाएकी थिइन् । तर युवकको बार्गेनिङ बढ्दै गएको र बारम्बार शारीरिक सम्बन्ध बनाउन धम्की दिन थालेपछि कान्तिले साइबर ब्युरो भोटाहिटीमा निवेदन दिइन् । आफूसँग बारम्बार पैसा मागिएको, यौन सम्बन्ध राख्न दबाब दिइएको र भनेको नमानेमा अश्लील फोटो र भिडियो भाइरल गराइदिने भन्दै धम्की दिने गरेको भन्दै धम्की दिने व्यक्तिको मोबाइल नम्बर र ह्वाट्सएपमा आएको म्यासेजको प्रिन्ट गरेर ब्युरोमा उजुरी दिइन् ।

वैयक्तिक गोपनीयतासँग सम्बन्धित विषय रहेको र समयमै सम्बोधन नगरेमा थप क्षति हुन सक्ने भन्दै साइबर ब्युरोको टोली ती युवकको खोजीमा निस्कियो । मोबाइल नम्बर ९७००६९८XXX का प्रयोगकर्ताका खोजीमा निस्किएको ब्युरोको टोलीले ललितपुर महानगरपालिका वडा नम्बर ४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई गत चैत २६ गते पक्राउ नियन्त्रणमा लियो । आयुषलाई नियन्त्रणमा लिई उसको मोबाइल हेर्ने बित्तिकै कान्तिलाई ब्ल्याक मेल गर्ने युवक आयुष नै रहेको खुल्यो । कान्तिलाई दुख हैरानी दिने व्यक्ति आयुष नै रहेको खुलेपछि उनलाई पक्राउ गरी ब्युरोमा ल्याइयो ।
कान्तिकै प्रेमीले दिएका दिए आयुषलाई नग्न फोटो र भिडियो

साइबर ब्युरोले आयुषलाई पक्राउ गरी ब्युरोमा ल्याएर गरिएको प्रारम्भिक सोधपुछमा कान्तिका पूर्व प्रेमी कृतन थापाले नै आयुषलाई उक्त फोटो र भिडियो उपलब्ध गराएको पाइएको छ ।
कान्तिका पूर्व प्रेमी थापाले नै आयुषलाई कान्तिको नग्न फोटो र भिडियो दिएर ब्ल्याकमेल गर्न र यौन सम्बन्ध बनाउन भनेका थिए ……..
ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार कान्तिका पूर्व प्रेमी थापाले नै आयुषलाई कान्तिको नग्न फोटो र भिडियो दिएर ब्ल्याकमेल गर्न र यौन सम्बन्ध बनाउन भनेका थिए ।
इन्स्पेक्टर खड्कीका अनुसार गएको दसैँमा बनेपामा भएको बाइक रेसिङमा आयुष अधिकारी र कृतन थापाको भेटघाट भएको थियो । क्यानडाबाट नेपाल आएको बेलामा कृतन पनि बाइक रेसिङका लागि भन्दै बनेपा पुगेका थिए र त्यहाँ नै उनीहरूको चिनजान भएको थियो । भेटघाटपछि साथी बनेका उनीहरू त्यसपछि पनि पटक पटक भेटघाट गर्थे । नजिक भएपछि कृतनले आयुषलाई कान्तिको फोटो र भिडियो देखाउँदै पहिले आफूहरू प्रेम सम्बन्धमा रहेको र अहिले ब्रेकअप भएको भन्दै पहिलेका फोटो र भिडियो देखाएका थिए । साथै सक्छौ भने यौन सम्बन्ध राख भन्दै ब्ल्याक मेल गर्नका लागि आफूसँग रहेको फोटो र भिडियोसमेत आयुषलाई दिएका थिए ।
कान्तिसँग पटक पटक ब्ल्याकमेल र बार्गेनिङ गर्दै कहिले पैसा माग्ने त कहिले यौन सम्बन्ध राख्न दबाब दिने गरेको …………
कृतनसँग फोटो र भिडियो लिएपछि आयुषले नै त्यसपछि कान्तिसँग पटक पटक ब्ल्याकमेल र बार्गेनिङ गर्दै कहिले पैसा माग्ने त कहिले यौन सम्बन्ध राख्न दबाब दिने गरेको पाइएको छ ।
यति बेला साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट म्याद लिई आयुषलाई विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा अनुसन्धान गरिरहेको छ ।
डिजिटल मिसयुजले बढायो समस्या : इन्स्पेक्टर खड्गी
साइबर ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गी डिजिटल मिसयुजका घटना दैनिक जस्तो नै उजुरीका रूपमा ब्युरोमा आउने गरेको बताउँछन् । सम्बन्धमा रहँदा पठाइएका वा सहमतिमा खिचिएका नग्न तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि बाहिर आउने गरेको र त्यसले व्यक्तिगत जीवन तहसनहस पार्ने गरेको बताउँछन् । कतिपय व्यक्तिको वैवाहिक र पारिवारिक जीवन तहसनहस पारेको र कतिपयले आत्महत्याको प्रयाससमेत गरेको पाइएको इन्स्पेक्टर खड्गीले लोकपथलाई बताए ।

सम्बन्धमा रहँदा सामाजिक सञ्जालमार्फत नग्न फोटो र भिडियो आदानप्रदान गर्न नहुने र सहमतिमा पनि त्यस्ता तस्बिर वा भिडियो खिच्न नहुने इन्स्पेक्टर खड्गीले बताए ।
खड्गी भन्छन्, ‘सम्बन्धमा जुनसुकै बेला दरार आउन सक्छ । आज जायज भनिएका कुराहरू भोलि नाजायज बन्न सक्छन् । त्यस कारण अश्लील तस्बिर र भिडियो खिच्ने वा खिचेर पठाउने गर्नु भनेको आफ्नै घाँटीमा तरबार झुन्ड्याउनु जस्तै हो, जुन बेला पनि सेरिन पर्ने हुनसक्छ । त्यस कारण डिजिटल मिसयुजबारे पहिले नै सजग भएर त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया