शिक्षकको मागबारे प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्री परियारको खुलापत्र

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले शिक्षकहरुको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै सहमहामन्त्री परियारले शिक्षकहरुको मागप्रति सरकार गम्भीर नरहेको भन्दै असन्तुष्टी जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले यदी सरकारले एक दुई दिनमा समेत शिक्षकहरुको जायज मागबारे चासो नदेखाए आफ्नो पार्टी नेपाली कांग्रेसले त्यसलाई गम्भीर रुपले लिने समेत चेतावनी दिएका छन् ।

‘सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होईन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ,’ उनले खुला पत्रमा भनेका छन् ।

त्यस्तै नयाँ वर्ष ०८२ सुरु भएसँगै सबै नयाँ वर्षमा रमाइरहँदा शिक्षकहरु भने सडक आन्दोलनमा रहनु लज्जाको विषय रहेको समेत बताए ।

यस्तो छ पत्र :

सम्माननीय प्रधानमन्त्रीज्यू

जय नेपाल !

विषय: नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला-पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ । नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेकोछ ।

पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरुसंग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।

भोलीबाट २०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँबर्ष आ-आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरु माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होईन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसंग समेत जोडदार माग रहनेछ ।

जय नेपाल !

जीवन परियार

प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?