काठमाडौं । केही दिनदेखि भारतको पश्चिम बंगालका केही क्षेत्रहरु अशान्त बनेको छ । पश्चिम बंगालको मुर्शिवाद क्षेत्रका सडकहरु सुनसान रहेका छन्, पसलहरु बन्द अवस्थामा छन् । केही दिनदेखिको भड्किएको हिंसाका कारण त्यस क्षेत्रमा इन्टरनेटले समेत काम गरिरहेको छैन । सुरक्षा बलहरू सडकहरूमा गस्ती गरिरहेका छन् ।
मुर्शिदाबाद जिल्लाका हिंसा प्रभावित क्षेत्रहरू मुख्यतः सुती, समसेरगंज, धुलियान र जंगीपुरमा अवस्था शान्तिपूर्ण छ तर तनाव कायमै छ ।
हिंसा प्रभावित क्षेत्रहरूमा निषेधाज्ञा लागू गरिएको छ । शुक्रबार दिउँसोदेखि सुती, धुलियान, समसेरगंज र जंगीपुर क्षेत्रमा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । तर जिल्लाको कुनै पनि ठाउँबाट कुनै नयाँ घटनाको अन्य खबर नआएको प्रहरीको दाबी छ ।
यसैबीच, पश्चिम बंगालका विपक्षी नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालमा राष्ट्रपति शासन लागू गर्न माग गरेका छन् ।
‘हामी बंगालमा चुनाव अघि राष्ट्रपति शासनको माग गर्छौं,’ उनले भनेका छन् ।
शुभेन्दु अधिकारीले पश्चिम बंगालमा हिन्दूहरुमाथि अत्याचार भइरहेको र उनीहरुसँग बस्नका लागि घर समेत नभएको भन्दै राज्य सरकार र केन्द्र सरकारसँग असन्तुष्टी पोखिरहेका छन् ।
शुभेन्दुले पश्चिम बंगालमा राष्ट्रपति शासन अन्तर्गत चुनाव गराउनुपर्ने माग गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया