काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै सम्भावना नै नरहेको स्पष्ट पारेको छ ।
केही दिनदेखि पूर्व प्रधानमन्त्री समेतरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयमा सरकार परिवर्तन हुन्छ भन्दै दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै एमालेले सो निष्कर्ष निकालेृको हो ।
आज बसेको पाटीको ४८औँ सचिवालय बैठकले प्रचण्डको भनाइप्रति खण्डन गर्दै सत्ता बाहिर रहँदा प्रचण्डको सत्ता मोह देखिएको र अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्तिहरु कुण्ठा र सरकार बाहिर रहँदाको पीडाबोध मात्रै रहेको टिप्पणी गरे ।
‘केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ । यसले उहाँमा सरकार बाहिर रहँदाको उहाँको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको कुनै सान्दर्भिकता छ । न त्यसको कुनै औचित्य छ,’ ज्ञवालीले भने ।
त्यस्तै अन्य सबै कुराहरु छाडेर सरकार परिवर्तनको मात्रै कुरा गरिरहनु सत्ताप्रतिको आशक्ती मात्रै रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया