एमाले बैठकमा ज्ञानेन्द्रको अभिव्यक्तिको समीक्षा, चुप बस्न चेतावनी

लोकपथ
721
Shares

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको हालै सार्वजनिक वक्तव्यबारे समीक्षा गरेको छ ।

आज बसेको पार्टीको ४८औँ केन्द्रीय सचिवालय बैठकमा आइतबार नयाँ वर्षका अवसरमा पूर्व राजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिको समीक्षा गरेको हो ।

हिजो नयाँ वर्षको शुभकामना दिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले तीनकुने घटना जनतामा आएको जागरण रहेको संकेत गर्दै अभिव्यक्ति दिएका थिए । तीनकुनेमा भएको हिंसात्मक घटनामा समेत पूर्वराजाले जनताको जागरण देखेको भन्दै आपत्ति जनाइएको बैठकपछि पार्टी महासचिव प्रदीप ज्ञवालीले बताए ।

साथै पछिल्ला दिनहरुमा राजावादीहरुले गरिरहेको आन्दोलनबाटै पुनः नेपालमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने मनसाय रहेको आफूहरुले बुझेको समेत बताए । साथै नेपाल लोकतान्त्रिक बाटोमा अघि बढिसकेको बताउँदै अब पुनः नेपालमाराजतन्त्र स्थापना सम्भव नभएको समेत स्पष्ट पारे ।

‘हिजो मात्रै पूर्व राजा ज्ञानेन्द्र शाहले एउटा सन्देश भनेर एउटा अभिव्यक्ति बाहिर आएको छ । त्यो अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ, अझै पनि मुलुकलाई पछाडी फर्काउन सकिन्छ कि भन्ने आशा मनमा जिवितै रहेको हामीले पायौँ । त्यो एकदमै गलत कुरा हो,’ ज्ञवालीले भने, ‘त्यो १५ गते घटेको घटनामा उहाँले जनतामा आएको जागरण व्यक्त गर्नुभयो । त्यसलाई जागरण भन्ने हो भने सर्वसाधारण जनताको घरमा लुटपाट, सर्वसाधारण जनताको घरमा तोडफोड, सरकारी कार्यालयहरुमाथिको विध्वंश, राजनीतिक पार्टीका कार्यालयहरुमाथि विध्वंश । उहाँले खोजेको जागरण त्यस्तै हो भनेदेखि त्यो धेरै आपत्तिजनक कुराहरु हो । त्यसकारण यस्ता खालका कुनै पनि क्रियाकलाप नगर्नका लागि हामीले भनेका छौँ । ती कुनै पनि कुरा सफल हुनेछैनन् ।’

त्यस्तै आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला अभिव्यक्तिबारे समेत समीक्षा भएको थियो । केही दिनदेखि प्रचण्डले वर्तमान सरकार केही समयमा ढल्ने र नयाँ सरकार बन्ने अभिव्यक्ति दिँदै आइरहेका छन् ।

यता एमालेले भने अहिले नयाँ सरकार बन्ने कुनै सम्भावना नै नरहेको बताउँदै प्रचण्डमा सत्ताबाट बाहिर रहनुपर्दाको पीडा पोखिएको ज्ञवालीको टिप्पणी रहेको छ ।

यो पनि…

एमालेले भन्यो– ‘प्रचण्डमा सत्तामा नहुँदाको पीडा पोखिन थाल्यो, सरकार परिवर्तन सम्भव छैन’

एमाले बैठक : कम्युनिष्ट योद्धाका रुपमा क–कसलाई गर्दैछ सम्मान ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?