नेताहरु ‘भाइरल’ हुन पार्टी नेतृत्वको विरुद्ध बोलिरहेका छन् : मन्त्री राणा

लोकपथ
756
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टीभित्रका कतिपय नेताहरु भाइरल हुनकै लागि मिडियामा बोल्ने गरेको भन्दै कटाक्ष गरेकी छन् ।

पार्टीका केही शीर्ष नेताहरुलाई लक्षित गर्दै मन्त्री राणाले मिडियामा स्पेस पाउनकै निम्ति नेताहरु पार्टीकै विरुद्ध बोल्ने गरेको बताएकी हुन् ।

सोमबार कांग्रेस जिल्ला कार्यसमिति इलामले सोमबार श्रीअन्तुमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् ।

‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरूद्धमा पनि बोल्ने गरेको देखिन्छ,’ मन्त्री राणाले भनिन्, ‘यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो ।’

अन्य पार्टीहरु आगामी निर्वाचनका लागि मिसन नै बनाएर लागिरहँदा कांग्रेसका नेताहरु भने आफूखुसी अभियानमा हिडिँरहेको टिप्पणी गरिन् । देशभर कार्यकर्ताहरुलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा समेत पार्टीलाई पहिलो बनाउन लाग्नुपर्नेमा आपसी विवाद पार्टीमा देखिएकाले त्यसले राम्रो नगर्ने समेत उनको तर्क छ ।

‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ। अरू पार्टीहरू ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ,’ मन्त्री राणाले भनिन् ।

त्यस्तै आफूलाई चित्त नबुझेको विषयमा पार्टीभित्रै छलफल गरेर हरेक समस्याको समाधान निकाल्नुपर्ने उनको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?