महोत्तरी । तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज जुडशीतल पर्व मनाउन लागिएको हो । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।
वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।
मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूलदेवता)लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन (मुन्गा)को तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया