अधुरै रह्यो आईजी बन्ने गौतमको सपना, आज रातिपछि सशस्त्रको उच्च पदमा नेपाली सेनाको सहभागिता शून्य 

लोकपथ
62k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम आज मंगलबार रातिदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाशमा गएसँगै सशस्त्र प्रहरीमा अब नेपाली सेनाबाट स्थानान्तरण भई उच्च पदमा पुग्नेको संख्या शून्य हुने छ ।

सशस्त्र प्रहरीको स्थापनाताका नेपाली सेनाबाट आएका १२० जनामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ नेतृत्व तह सशस्त्र प्रहरी महानिरीक्षकसम्म पुगे भने अतिरिक्त महानिरीक्षक (एआईजी) र नायव महानिरीक्षक (डीआईजी) तहसम्म पुग्नेको संख्या दर्जन बढी छ ।

आज राति ३० बर्से सेवाअवधिका कारण अनिवार्य अवकाशमा जान लागेका गौतमले सशस्त्रको नेतृत्वमा पुग्न सम्पूर्ण शक्ति लगाएको भएपनि उनी एआईजीबाटै अवकाशमा जान लागेका हुन् । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा बढुवा हुँदा पहिलो वरीयतामा आउन ज्यानै छाडेका गौतम अन्ततः तेस्रो वरीयतामा थन्किएका थिए । त्यसबेला हालका महानिरीक्षक राजु अर्याल पहिलो, नारायणदत्त पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा डीआईजीमा बढुवा भएका थिए । 

शैलेन्द्र खनाल आईजीपीबाट अवकाश र रिक्त आईजीपीमा पुष्पराम केसी नियुक्त भएसँगै एआईजीको रिक्त एक पदमा बढुवा हुन उनले ठूलो शक्ति प्रयोग गरेका थिए । तर अर्याल बढुवा भएसँगै आईजीपी बने भने त्यसपछि रिक्त एआईजीको दुई वटा पदमा सुरुमा नारायणदत्त पौडेलको बढुवा भयो भने पौडेलले बढुवासँगै एआईजीको फुली लगाएपछि मात्रै उनलाई एआईजी बनाइयो । 

एआईजी बनेपछि पनि उनले आईजीपी बन्न मरिहत्ते गरेर लागे । अन्ततः उनको त्यो सपना पूरा भएन र आज रातिदेखि उनी अनिवार्य अवकाशमा जानेछन् । 

सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका हुन् । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइसमेत गर्दै छ ।

उनी अवकाशमा जाने भएसँगै सशस्त्रमा रिक्त हुने एक एआईजी पदमा गत माघ २३ गते एक वर्ष म्याद थप गरिएका डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरूसँगै सि. सं १ का टोलीहरू पनि एआईजीको प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?