काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी महामन्त्री गगनकुमार थापाको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् ।
महामन्त्री थापाले अहिलेको सरकार बिचौलियाको चंगुलमा रहेको र प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको प्रभाव रहेको टिप्पणी गरेका थिए ।
कांग्रेसका शेखर कोइराला निकट रहेका नेता कार्कीले सामाजिक सञ्जालमा लेख्दै सरकारको संयन्त्रमा बसेर काम गरेको मान्छे (गगन थापा) ले बल्ल आएर मात्रै सो कुरा थाहा पाएको भन्दै व्यंग्य गरेका हुन् ।
उनले बालुवाटारमा १६ घण्टासम्म बसेर सरकारको रसायन बनेर काम गरेको मान्छेले एक दर्जन नियुक्ति भएपछि मात्रै सो कुरा थाहा पाएको भन्दै कटाक्ष गरे ।
‘दिन रात नभनी १६–१६ घण्टा बलुवाटारमा बसेर सरकारको रसायन बनेर काम गर्ने ले एक दर्जन नियुक्ति भए पछि बल्ल बेडमा बिचौलिया पुगेको देख्नु भएछ । यो मेरो विचार भन्दा पनि संबन्धित कै हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
पछिल्लो समय कांग्रेसमा गगन र शेखर पक्षका नेताहरुबीच तिक्तता बढिरहेको छ । सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा समेत शेखर पक्षका नेताहरु गगनविरुद्ध खनिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया